२०८१ पौष २४, बुधवार , ०५:१६:५७ बजे

Sajhamanch
'

भारतमा चन्द्रयान–४ मिसनका लागि साढे २१ अर्ब भारु विनियोजन

मङ्गलवार, असोज ८, २०८१

झापा । भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ ।

दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ का बीचमा सञ्चालन गरेको मिसनले चन्द्रमाबाट नमूना ल्याएको थियो । यस्तै सोभियत सङ्घले १९७० को दशकमा र चीनले २०२० मा चन्द्रमाबाट नमूना ल्याएका थिए ।

अमेरिकाले ल्याएको नमूना झन्डै ३ अर्ब ६० करोड वर्ष पुरानो भएको पत्ता लागेको छ । भारतसँगै रुस र जापानले पनि चाँडै चन्द्रमाबाट नमूना ल्याउने गरी काम गरिरहेका बीबीसीले जनाएको छ ।

सम्बन्धित खबर