२०८१ असोज ३, बिहिवार , ०७:३३:३९ बजे

Sajhamanch
'

संविधानलाई अझै उन्नत बनाउने बेला आएको छ : ईश्वर पोखरेल

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधि लामो नभए पनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउने बेला भएको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नु स्वाभिमानी र सचेत नेपालीहरूको कर्तव्य भएको बताए ।

उनले भने, ‘जनताका प्रतिनिधिहरूले बनाएको संविधान कार्यान्वयनको नौ वर्षे यात्रा धेरै लामो अवधि त होइन तर संविधानलाई पछाडि फर्केर उन्नत बनाउने बेला भने आएको छ । पछाडि फर्केर हेर्दा के के उपलब्धिहरू हासिल भए ? कमजोरीहरू कहाँ भए ? यसबाट शिक्षा लिँदै कसरी अगाडि बढ्ने आधार हामीले लिनुपर्छ । आफ्नो संविधान आफैँले लेख्ने र त्यही संविधानबाट शासित हुने ०७ सालदेखिको नेपालीको चाहना २०७२ सालमा आएर मात्र पुरा भयो । तसर्थ संविधान सभाबाट पारित लोकतान्त्रिक र जनताको संविधान भएकाले भएका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्नु संविधानका पक्षधर स्वाभिमानी र सचेत नेपालीहरूको कर्तव्य हो ।’

संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।

उनले संविधान मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानुनी राज्यको अवधारणलगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएको बताए ।

उनले भने, ‘संविधानले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका कानुनी राज्यको अवधारण लगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध भएर समृद्ध राष्ट्र निर्माण गर्न सङ्कल्पसहित आएको संविधान जनताको आन्दोलनको महत्त्वपूर्ण उपलब्धि हो ।’