२०८१ मंसिर १२, बुधवार , ०८:२७:५७ बजे

Sajhamanch
'

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भोलि मन्त्रीहरु बनाइने : मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुने

बुधवार, भदौ २६, २०८१

बिराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले भोलि बिहीबार मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेशको आज बुधबार भएको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो ।

कोशी प्रदेश सभापति उद्धव थापाले भने, ‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछ, बेलुकासम्म मलाई नाम आउँछ भन्ने जानकारी छ, त्यो भयो भने हामी भोलि बिहीबार सरकार गठन गरिसक्छौं।’

थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।

सभापति थापाका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्याबारे सोधेका थिए ।

‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई कोशीमा के भएको हो, हामीमाथि अविश्वास भएको हो कि, तपाईंहरू मन्त्रीमण्डलमा मन्त्री नपठाएर सडकमा अनशन बस्दै हुनुहुन्छ, हाम्रो गठबन्धनमा दरार पैदा भएको हो कि के हो भन्ने कुरा उहाँले आशंका व्यक्त गरिरहनु भएको रहेछ’ सभापति थापाले भने ।

यसअघि कोशीमा कांग्रेस सरकारमा सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि कांग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।