२०८१ मंसिर १२, बुधवार , १०:०३:३८ बजे

Sajhamanch
'

कोशी प्रदेशका व्यवसायी दुग्धजन्य पदार्थको बिक्री बढ्न थालेपछि उत्साहित

बिहिवार, भदौ १३, २०८१

विराटनगर । कोशीमा दुग्धजन्य वस्तुको बिक्री बढ्न थालेपछि डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीहरूमा आशा पलाएको हो ।

नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले दसैँ तिहारसम्ममा मौज्दातमा रहेका दुग्धजन्य पदार्थको ५० देखि ६० प्रतिशत खपत हुने बताए। सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै उत्पादित सामग्रीले बजार पाएको हो ।

उनले कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताए ।

डेरीको उत्पादन बिक्रि हुन थालेपछि किसान पनि उत्साहित बनेका छन् । ६ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख किलोग्राम भन्दा धेरै रहेको थियो ।

विगतमा डेरीले दुध नकिन्दा र किनेको दुधको भुक्तानी नदिँदा कोशी प्रदेशका दुग्ध उत्पादक किसान पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत ठाउँमा सञ्चालित धेरै गाईफार्म बन्द भएका छन् । अहिले डेरीले दुध किन्ने र बेलैमा भुक्तानी दिन थालेपछि पलायन भएका किसान पेशामा फर्किने तयारीमा छन् ।