२०८१ चैत ३, आइतवार , ०४:११:१५ बजे

Sajhamanch
'

बोत्सवानामा फेला पर्यो विश्वकै दोस्रो ठूलो हिरा

शुक्रवार, भदौ ७, २०८१

झापा । बोत्सवानामा विश्वको दोस्रो ठूलो २ हजार ४९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ ।

उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ ।

लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३ हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा हो ।

कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ । यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो ।

ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ ।

बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गरेका थिए । उनको सरकारले यो विश्वको दोस्रो ठूलो हिरा भएको बताएको छ ।

बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ ।

बिहीबार खोजको घोषणा हुनुअघि बोत्सवानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको १ हजार ७५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो । लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्सवानामा १ हजार १७४ क्यारेटको हिरा फेला पारेको थियो ।

सम्बन्धित खबर