२०८१ मंसिर १५, शनिवार , ०२:४०:३० बजे

Sajhamanch
'

कोशी प्रदेशले बनाएको १७ किलोमिटर लामो सडक सञ्चालनमा

बिहिवार, साउन ३१, २०८१

विराटनगर । कोशी पहाडको जिल्ला तेह्रथुममा प्रदेश सरकारद्वारा निर्मित सिधुवादेखि शुक्रबारेसम्मको डबल लेनको सडक सञ्चालनमा आएको छ।

१७ किलोमिटर लामो उक्त सडकको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका छन्।

कोशी सरकारले दिएको जानकारी अनुसार प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय संखुवासभाले ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण सम्पन्न गरेको हो।

धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडकले पहाडी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा लाभान्वित हुने सरकारको भनाइ छ।

मुख्यमन्त्री कार्कीले सडक निर्माणले स्थानीय बजार प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पहाडी जिल्लामा भइरहेको बसाइसराइ रोक्न, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्न उक्त सडक महत्त्वपूर्ण हुने दाबी गरे।

‘आज पहाडबाट बसाइसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ,’ उनले भने, ‘नयाँ संरचना हो हामी, राम्रा र देखाउन हुने काम गर्ने छौं।’