२०८१ कार्तिक ८, बिहिवार , ०१:४१:५९ बजे

Sajhamanch
'

जीवन बचाउने थलो बन्दै चारआलीको सर्पदंश उपचार केन्द्र

शुक्रवार, असार २१, २०८१

मेचीनगर । मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ ।

नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बंगालको दार्जीलिङ, सिलीगुढी, बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् ।

यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएका कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यले ध्यान दिनुपर्ने बताए ।

उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाई सेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।

त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चलेको हो ।

उनकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो । उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ ।

मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी बताए ।

“सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उनले भने, “जुन ढंगले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र संकल्पको खाँचो छ ।”

झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उनले जानकारी दिए ।

मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ ।

नगरप्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका लागि नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताए । सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए ।

विगतमा झापाका बिरामी धेरै हुने गरेकामा अहिले इलामका बिरामी बढेका छन् । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् ।

विसं २०८० मा सर्पले डसेका ९७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेका अध्यक्ष भट्टराईले जानकारी दिए । इलामको सूर्योदय वडा नं. १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताए ।

उनलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो । मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उनलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उनको ज्यान बच्यो ।

पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ ।

बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउँछन् ।

केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएका बताए ।

केन्द्रले बिरामीको दर्ता शुल्क रु.१०० र साधारण उपचार सेवा शुल्क रु. ६०० मात्र लिने गरेको छ ।

उपचारका लागि बस्दा बेड शुल्क रु १००, ५ भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम) को रु १ हजार ५ सय र ५ भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु ३ हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उनले जानकारी दिए ।

“समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उनले भने । कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् ।

चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

सम्बन्धित खबर