२०८३ जेठ १२ मङ्गलवार , ०६:४५:१८ बजे

Sajhamanch
'

पूर्वी पहाडमा बाँदर आतङ्क : खाद्य सङ्कटको जोखिम बढ्दो

मङ्गलवार, जेठ १२, २०८३

विराटनगर । । कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको  छ ।

पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् । विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखाप पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन, खाद्य सङ्कट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलु, फलफूल तथा तरकारी खेतीमा सबैभन्दा बढी क्षति पुगेको छ । कृषिउपज बाँदर र अन्य जङ्गली जनावरले खाँदा अन्नबालीको अभाव हुँदै गए पनि त्यसको तथ्याङ्कीय लेखाजोखा भने गरिएको छैन । बाँदरको समस्या गाउँदेखि सङ्घीय संसद्सम्म चर्चामा आए पनि समाधानको कुनै सूत्र भने फेला परेको छैन । कुनै बेला खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आयात गर्ने मुलुक भएको छ ।

प्रायः प्रत्येक दिन बिहानदेखि बेलुकासम्म खेतबारी कुरेर बस्नुपर्दा बालबालिकाको पढाइ, दैनिक मजदुरी र अन्य कामसमेत प्रभावित भएको छ । कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालैपालो खेतबारीमा बस्न बाध्य छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–६ का एक किसानले ‘एक सिजनको दुःखले लगाएको मकै एकै दिनमा बाँदरले सखाप पारिदिन्छ’ भन्दै खेतीप्रति नै निराशा बढ्दै गएको गुनासो गर्नुभयो । भोजपुर र सङ्खुवासभाका धेरै गाउँमा किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् । बाँदर आतङ्कका कारण खेतीबाट आम्दानी घटेपछि युवा रोजगारीका लागि सहर वा विदेश पलायन हुने क्रम पनि बढेको  छ ।

बाँदर आतङ्कका कारण सर्वसाधारणको बसोबासमै समस्या देखिन थालेको छ । घरभित्र पसेर अन्न, फलफूल र खाद्यान्न लैजाने, बालबालिका तथा वृद्धमाथि झम्टिने घटना बढेपछि ग्रामीण बस्तीमा त्रास फैलिएको छ । कतिपय स्थानमा बाँदरले झ्यालढोका फोड्ने तथा भान्साघरमा पसेर सामान नष्ट गर्ने गरेको छ । विशेष गरी वन क्षेत्र विस्तार, जङ्गली आहारा अभाव र मानव बस्ती नजिकको वन विनाशका कारण बाँदर गाउँ पसेको देखिन्छ । कृषि तथा वनविज्ञ रामअवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेतीयोग्य जमिन परित्याग हुँदा बाँदरको बासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनु हुन्छ । बाँदर आतङ्कका कारण समग्र मानव बस्तीमा अधिक समस्या बढेको बताउँदै उहाँले बाँदर नियन्त्रणका लागि राष्ट्रिय नीति आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशका धेरै स्थानीय तहले बाँदर नियन्त्रणका लागि विभिन्न उपाय अपनाए पनि प्रभावकारी परिणाम आउन सकेको छैन । कतै डोरी टाँग्ने, टिन पिट्ने, साइरन बजाउने र जाली लगाउने काम भए पनि बाँदरको सङ्ख्या बढ्दै गएको छ । केही पालिकाले बाँदर धपाउने उपकरण वितरण गरेका छन् भने कतिपय ठाउँमा बाँदरको बन्ध्याकरणबारे छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका रूपमा वन–मानव द्वन्द्व व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ । अर्कोतर्फ किसानले भने तत्काल राहत, बाली बिमा र प्रभावकारी नियन्त्रण कार्यक्रम लागु गर्न सरकारसँग माग गरेका छन् । पछिल्लो समय बाँदरको आतङ्कले गाउँमा बस्नै कठिन बन्दै गएको भोजपुरको दिङ्ला निवासी जलेश चापागाईको भनाइ छ ।

उठिबासै पार्‍यो 

हिले समाचारदाता कविराज घिमिरेका अनुसार माहाङका करिब ५० परिवारमध्ये अधिकांशको जीविकोपार्जनको माध्यम कृषि नै हो । तर बाँदर आतङ्कका कारण माहाङको अधिकांश जमिन बाँझो छ । बाँदरले बालीनाली नष्ट गर्न थालेपछि घर वरिपरिबाहेक अन्य  क्षेत्रमा खेतीपाती गर्न छाडेको स्थानीयवासी बताउँछन् । खेती गर्न नपाएपछि केहीले त गाउँ नै छाडेका स्थानीय रवीन घिमिरे बताउनुहुन्छ ।

यहाँ बस्ने र खेती गर्नेहरूले पनि चौबिसै घण्टा पालो गरेर बाँदर रुँघ्नुपर्ने अवस्था रहेको उहाँ थप्नुहुन्छ । माहाङ जस्तै धनकुटाका अधिकांश स्थानको अवस्था उस्तै छ । सडक, बिजुलीलगायत पूर्वाधार सुविधा रहेको आफ्नो गाउँ बाँदरकै कारण रित्तिएको धनकुटाको छथरजोरपाटी गाउँपालिका–३, सिभुवाका नेत्र थापा बताउनु हुन्छ । “बाँदरलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि सबै गाउँ छाड्न बाध्य भए, अहिले तीन घर मात्र छौँ,” उहाँ भन्नुहुन्छ ।

बाँदर धपाउन बिदा 

धनकुटामा मात्र नभई छिमेकी जिल्ला तेह्रथुमको अवस्थासमेत उस्तै छ । खास गरी जङ्गलसँगै जोडिएका बस्तीमा बाँदरले सताउँदै आएको तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावोहाङ बताउनु हुन्छ । जिल्लाका सबै स्थानमा बाँदर समस्या रहेको उहाँको भनाइ छ । बाँदर धपाउनकै लागि लालीगुराँस नगरपालिकाले जेठ १ गते सार्वजनिक बिदा दिएर अभियान चलाएको थियो । तर केन्द्रबाटै प्रभावकारी नीति र कार्यक्रम नल्याएसम्म यो समस्या समाधान हुन नसक्ने उहाँको भनाइ छ ।

दिउँसो बाँदर र राति मृग, खरायो, कालिज, दुम्सी, बँदेल जस्ता जङ्गली जनावरले खाद्य बाली नष्ट पारेर दुःख दिने गरेको तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर २ निवासी रेणुका खड्का बताउनु हुन्छ । लगाएको बाली नष्ट भएपछि जिउने आधार नभएका किसानको समस्या सरकारले समाधान गर्नुपर्ने स्थानीयवासीको माग छ ।

पालैपालो गस्ती

फिदिम समाचारदाता राधा लुइटेलका अनुसार खेतबारीमा लगाएको मकै तथा अन्य बाली जोगाउन पाँचथरका ग्रामीण बस्तीमा किसान आफैँ ‘बाली सुरक्षा अभियान’ मा जुट्न थालेका छन् । फिदिम नगरपालिका–४ का सालघारी, थाक्ले, थापाटार, तिरतिरे र हेवाखोला आसपासका बस्तीमा पछिल्लो समय बाँदर आतङ्क रोक्न स्थानीयवासीले सामूहिक गस्ती सुरु गरेका हुन् । कुम्मायक गाउँपालिका–१ ले भने मकैबारी जोगाउन छुट्टै ‘बादर हेरालु’ नै नियुक्त गरेको छ ।

मकैमा घोगा लाग्नेदेखि भाँच्ने समयसम्म करिब एक महिनाका लागि नौ जना परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । हेरालुले खेतबारी वरिपरि गस्ती गर्ने, बाँदर तर्साउने तथा बालीको निगरानी गर्ने काम गरिरहेका छन् । उनीहरूलाई आवश्यक सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ भने पारिश्रमिक डोर हाजिरका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको जनाइएको छ ।

घट्दै खेती 

ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाकका अनुसार ताप्लेजुङका बाँदरले बालीनाली खाएर ठुलो नोक्सानी पु¥याउने हुँदा किसानले गाउँबस्तीका पुछार तथा खोला गड्तिर क्षेत्रमा खेती लगाउन छोड्दै गएका पाइएको छ ।

सिदिङ्वा गाउँपालिका–४ का किसान खड्गबहादुर लिम्बूका अनुसार बाँदरबाट बाली जोगाउन बिहान सबेरैदेखि साँझ अध्याँरो हुँदासम्म खेतीबाली रुँघ्नुपर्ने अवस्था छ । रुँघेर बस्दा पनि बाँदरले छक्याएर बालीनाली खाइदिने गरेको उहाँले बताउनुभयो । जिल्लामा रहेका एक नगरपालिकासहित नौ वटै स्थानीय तहका केही हिमाली भेगका वडाबाहेक सबै क्षेत्रमा बाँदरको आतङ्क छ । तुलनात्मक रूपमा लेकभन्दा औल तथा बेँसी क्षेत्रमा बाँदरले बढी नोक्सानी पुर्‍याउने गरेको किसानको भनाइ छ ।

किसानलाई नै कारबाही 

बाँदर आतङ्क खेप्न बाध्य किसानले कुनैबेला खोर र पासो थापेर बाँदर नियन्त्रण गर्ने प्रयास गर्दा कारबाही बेहोर्नुपर्ने अवस्था पनि आउने गरेको छ । बाँदरले सधैँ क्षति गर्ने गरेपछि गत मङ्सिर अन्तिम साता पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुमा एक किसानले खोर (पासो) थापेर थापेर बाँदर मारेको आरोपमा कारबाही खेप्नु पर्‍यो । बाँदरले निकै हैरानी दिने गरेको भए पनि बाँदर वा जङ्गली जनावर मार्न नहुने कानुन हुँदा किसानले कारबाही बेहोर्नुपर्ने अवस्था रहेको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । आफ्नो पालिका क्षेत्रमा किसानलाई बाँदरले निकै हैरानी दिने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर