
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र भारतको नयाँ दिल्लीमा रहेको युरोपेली सङ्घ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डौमा रहेका अन्य देशका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भर्खरै सम्पन्न चुनावी परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री शाहले भन्नुभयो, ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्णरूपमा अलग हुनु होइन । नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ ।’
नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । नागरिकका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताउनुभयो ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ’, उहाँले भन्नुभयो ।
नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो । साथै उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको स्पष्ट पार्नुभयो ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भू–भागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा धेरै पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।
भेटमा काठमाण्डौ र नयाँ दिल्लीमा रहेका ईयूका राजदूत तथा काठमाडौंमा रहेका अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो । साथै उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो । आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उहाँहरूले उल्लेख गर्नुभयो ।


