२०८३ जेठ १२ मङ्गलवार , ०४:४४:५५ बजे

Sajhamanch
'

पावर बैंकका कारण विमानमा जोखिम बढ्दै गएको बेलायतको उड्डयन नियामकको चेतावनी

मङ्गलवार, जेठ १२, २०८३

झापा । बेलायतको उड्डयन नियामकले यात्रुहरूले बोक्ने पोर्टेबल चार्जर अर्थात् पावर बैंकका कारण विमानमा जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।

बेलायतको नागरिक उड्डयन प्राधिकरण ९सीएए० ले पावर बैंकहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै यात्रुहरूलाई सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

सीएएले पावर बैंकका कारण उत्पन्न हुने समस्याहरू विश्वभर बढ्दै गएको बताएको छ ।गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजीजेटको एउटा विमान इटालीको रोममा आकस्मिक अवतरण भएको थियो । एक यात्रुले विमानको चेक–इन ब्यागेज राख्ने ठाउँमा पावर बैक राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै विमान डाइभर्ट गरेका थिए ।

बेलायतको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले विमानमा यात्रुहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमहरूका बारेमा बताएको छ । सीएएका जोनाथन निकोल्सनका अनुसार पावर बैंकहरू कहिल्यै पनि जहाजको होल्डमा राखिने ठूला झोलामा राख्न हुँदैन र त्यसलाई सधैँ आफूसँगै क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ ।

यस्तै एक जना यात्रुले २ वटाभन्दा धेरै पावर बैंक बोक्न पाउँदैनन् । विशेषगरी विमानभित्र पावर बैंक चार्ज नगर्न यात्रुहरूलाई निर्देशन दिइएको छ । चार्ज गर्दा यी उपकरणहरू अत्यधिक तातेर आगलागी हुने सम्भावना धेरै हुन्छ ।

तथ्याङ्क अनुसार सन् २०१९ देखि २०२४ को बीचमा थर्मल रनवे (लिथियम–आयन ब्याट्री अत्यधिक तातेर हुने घटना) १५ प्रतिशतले बढेको छ । सन् २०२४ मा मात्रै हरेक हप्तामा औसतमा २ वटा विमानमा यस्ता घटना भएका थिए । डिजिटल क्यामेरा वा ल्यापटपको तुलनामा पावर बैंकमा ठूला र शक्तिशाली ब्याट्रीहरू हुन्छन् । यदि यसमा आगो लागेमा निभाउन कठिन हुन्छ ।

सम्बन्धित खबर