२०८३ जेठ १२ मङ्गलवार , ०२:५३:३४ बजे

Sajhamanch
'

मुस्ताङका उच्चलेकमा यार्सा गुम्बा संकलन सुरु, समितिको अनुमति अनिवार्य

मङ्गलवार, जेठ १२, २०८३

मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।

यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा सङ्कलन भइरहेको एक्यापले जनाएको छ । समुद्री सतहको चार हजारमाथिको उचाइ क्षेत्रमा वन्य औषधीय जटीबुटी यार्सा पाइन्छ ।

बर्सेनि वैशाखदेखि असारमहिना सङ्कलन गरिने यार्सा सङ्कलन गर्न स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले तोकेको शुल्क तिरेर अनुमतिपत्र (पुर्जी) लिई उच्चलेक र पाटनतर्फ प्रस्थान गरेका एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जानकारी दिनुभयो ।

यार्सा सङ्कलन छोडपुर्जी अनुमतिका लागि यहाँका विभिन्न समितिले एक्याप कार्यालयबाट पूर्वलिखित अनुमति लिनुपर्ने प्रावधान रहेको उहाँको भनाइ छ ।

मुस्ताङको पाँच स्थानीय तहमध्ये थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रका उच्चलेक, खर्क र पाटनमा यार्सा सङ्कलन कार्य सुरु भइसकेको छ ।

स्रोत संरक्षण सहायक ओलीका अनुसार थासाङ गाउँपालिकाको कुञ्जो, कोवाङ, टुकुचेलगायतका संरक्षण व्यवस्थापन समितिले वैशाख २ गतेदेखि उच्चलेकमा यार्सा सङ्कलन फुकुवा गरेका हुन् ।

यसैगरी यहाँका घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समिति जोमसोमले वैशाख २५ गतेदेखि यार्सा सङ्कलन फुकुवा गरेको समितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो ।

जोमसोम संरक्षण क्षेत्र व्यवस्थापन समितिको मातहतमा रहेको घरपझोङ–५ छत्रबाङ लेकदेखि नमखुलेक, हुँदै लुप्रा लेकसँग सिमाना जोडिएको कुङ्ले लेकसम्मको क्षेत्रमा यार्सा सङ्कलन फुकुवा गरिएको समिति सचिव गुरुङले उल्लेख गर्नुभयो ।

जोमसोम समितिले यार्सा सङ्कलनका लागि जोमसोम समितिअन्तर्गत ढुम्बा, सम्ले, ठिनी र जोमसोमका रैथाने कुरिया दर्ता भएका स्थानीयलाई चार हजार र स्थानीयको घर खेत अधिया कमाएर बसेका व्यक्तिहरुलाई छ हजार शुल्क लिने गरी यार्सा सङ्कलन गर्न अनुमतिपत्र (पुर्जी) दिने गरेको सचिव गुरुङले बताउनु भयो । जोमसोम समितिअन्तर्गतको लेकमा हालसम्म ६५ जनाले अनुमति लिएका समिति सचिव गुरुङले जानकारी दिनुभयो ।

एक्यापअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आइतबारदेखि यार्सा सङ्कलन फुकुवा गरेको जनाएको छ । समिति मातहतको उच्चलेकमा यार्सा सङ्कलन गर्ने अनुमतिका लागि स्थानीय व्यक्तिलाई रु तीन हजार र जिल्ला बाहिरका व्यक्तिलाई रु छ हजार शुल्क तोकिएको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो ।

मुक्तिनाथ माथिको रिसम्बा लेक र लुप्रा गाउँ माथिको नेर झोङ उच्चलेकमा यार्सा सङ्कलन गर्न दुईदिनको फेरोमा १६५ जना व्यक्तिले अनुमतिपत्र लिइसकेका छन् । मुक्तिनाथ क्षेत्रको उच्चलेक, खर्क र पाटनमा उच्चलेकमा यार्सा अनुमति लिनेहरु शतप्रतिशत जिल्ला बाहिरका व्यक्तिहरु भएको सचिव गुरुङले बताउनु भयो ।

गत वर्ष यार्सा गुम्बाको मूल्य कम भएकाले यस वर्ष यार्सा सङ्कलनकर्ता कम मात्रामा आएका मुक्तिनाथ समितिले जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष मुक्तिनाथ लेंकमा यार्सा सङ्कलन गर्नेको सङ्ख्या ५० प्रतिशतले घटेको समिति सचिव गुरुङको भनाइ छ ।

वारागुङ मुक्तिक्षेत्र–२ को झोङ संरक्षण व्यवस्थापन समितिले पनि एक्यापबाट अनुमति लिएर उच्चलेकमा यार्सा सङ्कलन गर्न फुकुवा गरेको जनाइएको छ ।

यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ ताङ्ग्यास्थित सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि यार्सा सङ्कलन फुकुवा गरिसकेको एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

समितिअन्तर्गतको पा लेकमा यार्सा सङ्कलन गर्न समितिले एक्याप कार्यालयबाट अनुमति लिएको प्रमुख पौडेलको भनाइ छ । प्रमुख पौडेलका अनुसार लोमान्थाङ गाउँपालिकामा यार्सा सङ्कलन नहुने गरेको र लोघेरक दामोदरकुण्डमा सुर्खाङ समितिले मात्रै यार्सा सङ्कलन फुकुवा गरेको जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत यहाँका उच्चलेकमा एक्यापअन्तर्गतको समितिबाट यार्सा सङ्कलन अनुमपतिपत्र (पुर्जी) वितरण गरिएको भएपनि यहाँका कतिपय गाउँका लेकहरुमा यार्सा सङ्कलन गर्न एक्यापको अनुमति नलिई गाउँसमाजबाटै यार्सा गुम्बा फुकुवा गरिएको छ ।

यहाँको घरपझोङ–२ मार्फा, वारागुङ मुक्तिक्षेत्र अन्तर्गत छेङ्गुर,कागबेनी र छुसाङलगायतका गाउँबाट एक्यापको समन्वय नभई गाउँ समाजबाटै यार्सा सङ्कलन फुकुवा गरिएको छ ।

मुस्ताङमा यार्सा गुम्बा सङ्कलन गर्ने सिजन सुरु भएसँगै यहाँका उच्चलेक, खर्क र पाटनहरुमा यार्सा सङ्कलनकर्ताको चहलपहल बढेको छ । यार्सा सङ्कलनका लागि एकदुई महिनासम्म लेंकमा बस्ने गरी खाने र बस्ने लगायतका बन्दोबस्तीका सामान साथै लिएर यार्सा सङ्कलन गर्ने व्यक्तिहरु उच्चलेकमा पुगिसकेका छन् ।

मुस्ताङका उच्चलेंकमा सङ्कलन गरिएका यार्सा गुम्बा जिल्ला बाहिर लैजान परेमा सम्वन्धित स्थानीय तह, संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई राजश्व र दस्तुर बुझाउनुपर्ने हुन्छ । यार्साको कारोबार गर्ने व्यापारीले जिल्ला बाहिर ढुवानी गर्नु परेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार प्रतिकेजी रु ३१ हजार राजस्व बुझाउनुपर्ने प्रावधान रहेको छ । यसको बजार मूल्य गुणस्तरका आधारमा प्रतिकेजी सरदर रु. १५ लाखदेखि २५ लाखसम्म रहने गोर्खाका यार्सा व्यवसायी काजीराम गुरुले बताउनु भयो ।

राजस्व तिरेर जिल्लाबाट वार्षिकरुपमा पाँचदेखि सात केजीसम्म निर्यात हुने गरेको सरकारी तथ्याङ्क छ । नेपालबाट उत्पादित यार्सामध्ये ८० प्रतिशत चीन अन्य देशमा बाँकी निर्यात हुने गरेको छ ।

यार्साको सिजन सुरु भएसँगै एक्यापले वन्यजन्तुको चोरी सिकारी, वन डढेलो नियन्त्रण र उच्चलेक, खर्क र पाटनमा हुनसक्ने अवान्छित गतिविधि रोकथाम गर्न यसै वर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ । उच्चलेकमा हुने सबै प्रकारको जोखिम र अपराध नियन्त्रण तथा त्यसको पहिचान गर्न एआई ड्रोन क्यामेरा प्रयोगमा ल्याएको हो । यसका अलावा वन तथा उच्चलेकमा अपराधिक क्रियाकलाप रोक्न एक्यापद्वार प्रशासन,प्रहरी र संरक्षण क्षेत्र व्यवस्थापन समितिको रोहबर पैदल गस्तीसमेत गर्ने गरिएको एक्यापले जनाएको छ ।

हिमाली क्षेत्रको उच्चलेक, खर्क र पाटनमा पाइने औषधीय जडीबुटी यार्सा गुम्बा एक प्रकारको प्राकृतिक जीव र वनस्पति मिश्रित जीव हो । यसलाई कतिपयले यार्सा नभनी किरा टिप्न जाने भनेरसमेत भन्ने गर्छन । हिमाली क्षेत्रको उच्चलेकमा पाइने एक विषेश प्रकारको पुतलीको लार्भा (किरा) जमिनभित्र बस्छ । त्यस किराको शरीरमा ‘कर्डिसेप्स’नामको ढुसी प्रवेश गर्छ ।

ढुसीले विस्तारै किराको शरीरभित्र विकशित हुँदै किरालाई मारेपछि त्यसभित्र बस्छ । हिउँदयामको जाडो महिना सुरु हुँदा मृत किराको टाउँकोबाट सानो घाँस जस्तो डाँठ पैदा भई बाहिर निस्कन्छ । सोही किराको शरीर र माथि उम्रिएको ढुसी मिलेर बनेको वस्तुलाई यार्सा गुम्बा भन्ने गरिएको हो ।

समग्रतामा यार्सा भनेको गर्मीयामको घाँस र गुम्बा भनेको जाडोयामको किरा भन्ने तिब्बती अर्थबाट यसको नामकरण गरिएको हो ।

हिमाली क्षेत्रमा पाइने यार्सा गुम्बाको सेवनले शारीरिक तन्दुरुस्ती र ताकत क्षमता बढाउने गर्छ । यार्सा सेवनले यौन क्षमता र रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी मानिन्छ । यार्सा गुम्बालाई विदेशीहरुले औषधी उत्पादनका लागि प्राकृतिक केमिकलको रुपमा प्रयोग गर्ने भएकाले विश्व बजारमा यसको खपत बढी हुने गरेको छ ।

सम्बन्धित खबर