२०८२ जेठ १, बुधवार , ०२:५३:५८ बजे

Sajhamanch
'

अब जन्मदर्ताको प्रमाणपत्र जारी गर्दा नै राष्ट्रिय परिचय नम्बर दिइने

बिहिवार, चैत १, २०८०

काठमाडौं । सरकारले अबदेखि राष्ट्रिय परिचय नम्बर (एनआईएन) सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गएको फागुन २७ गते राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो ।

“नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था भएबमोजिम यस विभागको २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न देहायअनुसार गर्नु गराउनुहुन अनुरोध छ,” विभागले सबै स्थानीय तह र नेपाली कूटनीतिक नियोगलाई लेखेको पत्रमा उल्लेख छ ।

नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न गराउन पनि विभागले भनेको छ ।

“कुनै प्राविधिक कारणले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर प्राप्त भएपश्चात् मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्नु गराउनुहुन,” विभागले पत्रमा स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरुलाई भनेको छ ।

विभागले जन्मदर्ताको प्रमाणपत्रमा अनिवार्य राष्ट्रिय परिचय नम्बर राखेर मात्र जारी गर्न भनेको छ ।

सम्बन्धित खबर