
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।
आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।
त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि समेट्ने सहमति भएको छ ।
नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ,’ स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ ।
नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक–एक जना मन्त्री बन्दैछन् । रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।