२०८२ जेठ ७, मङ्गलवार , १२:५१:११ बजे

Sajhamanch
'

नेकपा एमाले भद्रपुर नगर कमिटीद्वारा तीनजना सदस्यको सदस्यता खारेज (!)

बिहिवार, माघ ११, २०८०

भद्रपुर । तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको पार्टी सदस्यता खारेज (!) गरेको छ ।

एमाले भद्रपुर नगर कमिटीको पुस २९ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टी पूर्व प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठ, पूर्व नगर इञ्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना तथा पूर्व जिल्ला कमिटीका विभागीय सदस्य लोकनाथ भट्टराईलाई विधानको धारा ८० को १, २, ३, ४ र ५ अनुसारको कसुर गरेको ठहर गरी विधानको धारा ८१ (१) बमोजिम निजहरुको पार्टी सदस्यता खारेजीको निर्णय गरेको हो । सो निर्णय अनुमोदनका लागि पार्टी जिल्ला कमिटीमा अनुुरोध गरी पठाउने निर्णय पनि गरेको छ ।

नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गानाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा भद्रपुर नगर इन्चार्ज सुनिता बरालको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कोशी प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. ३ (१) का इन्चार्ज सन्तलाल मेचे एवं पार्टी जिल्ला कमिटी सदस्य तथा भद्रपुर सह ईन्चार्ज कालीचरण बस्नेतसहितको आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नगर अध्यक्ष ढुङ्गानाले कार्ययोजनाको एजेण्डा प्रस्तुत गर्न लाग्दा बैठकमा सहभागी वडा इञ्चार्ज तथा वडा कमिटी अध्यक्ष एवम् सचिवालय सदस्यहरुले हलबाट पार्टीमा घात अन्तरघात गर्नेहरुको विषयमा छलफल र निर्णय नगरी अध्यक्षबाट प्रस्तुत भएका विषयहरुमा छलफल गर्न नसकिने अडान राखेका थिए । सोपछि स्थानीय तह, संघ तथा प्रदेश निर्वाचनमा स्पष्ट देखिने गरी भएका अन्तरघात गर्ने गराउने माथिको कारवाही सम्बन्धमा छलफल चलाई निर्णय नभएसम्म प्रस्तुत विषयमा छलफल गर्न नसकिने अडानसहितको कार्यकर्ताको दवावमा सो निर्णय भएको थियो ।

कार्यकर्ताले माथिल्लो कमिटीलाई नगरस्तरीय समीक्षा समितिले दिएको प्रतिवेदनलाई समेत माथिल्लो कमिटीले वेवास्ता गरेको भन्दै हलबाटै सो निर्णय गर्नुपरेको एक सहभागीले बताए । सो बैठकले सो विषयमा व्यापक छलफल भई सर्वसम्मत ढंगले थप निर्णय पनि गरेको छ ।

सम्बन्धित खबर