
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना भएको छ । अहिले साँझ साढे ६ बजे मोटरसाइकल र बस एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना घाइते भएको जनाइएको छ ।
दुर्घटनामा परी झापाको कनकाई नगरपालिका वडा नं. ८ का तोयनाथ उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । ४४ वर्षीय उप्रेतीसँगै मोटरसाइकलमा सवार अन्य दुईजना दुर्घटनामा घाइते भएका छन् ।
उप्रेतीले चलाएको मे १ प ७२४८ नम्बरको मोटरसाइकलले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । मोटरसाइकलमा ३ जना सवार थिए ।
मोटरसाइकलमा सवार अन्य २ जना कनकाई ५ का वर्ष ५९ का रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल र यात्रुबाहक बस चारपाने चोकमा एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो ।
ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।