२०८१ मंसिर १५, शनिवार , ०३:२४:५८ बजे

Sajhamanch
'

झापा लिग : मैदानमै कुटिए रेफ्री श्रेष्ठ, कमल गाउँपालिकालाई निलम्बन

बिहिवार, मंसिर १४, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आ–आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।

आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले अब एक–एक खेल खेल्न बाँकी छ ।

कचनकवलले अन्तिम खेल ६ अंक रहेको शीर्ष स्थानको मेचीनगरसँग खेल्नेछ भने १ अंक मात्र रहेको भद्रपुरले १ अंक मै रहेको अन्तिम स्थानको बाह्रदशीको सामना गर्नेछ । बाह्रदशी गोलअन्तरले भद्रपुरभन्दा अझै एक स्थान तल छ ।

आजको पहिलो खेलको सुरुवाती अग्रता भद्रपुरले लिए पनि थामिन नसक्दा कचनकवलले गोल फर्कायो । खेलको १७औँ मिनेटमा भद्रपुरका निवाङ लिम्बूले गरे भने ६९औँ मिनेटमा कचनकवलका सुगम राईले गोल गर्दै बराबरी बनाए ।

खेलको प्लेयर अफ दि म्याच कचनकवलका कप्तान रामबाबु साहा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर जेसीजका पूर्वअध्यक्ष प्रकाश भण्डारीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैगरी आज भएको दोस्रो खेलमा अर्जुनधारा विजयी बन्यो । अर्जुनधाराले कमल गाउँपालिकालाई हराएसँगै समूह घ को नतिजा पनि रोमाञ्चक बनेको छ ।

खेलको अन्तिम पाँच मिनेटअघि कमलका खेलाडीले मुख्य रेफ्री डिकबहादुर श्रेष्ठलाई हातपात तथा कुटपिट गरेका थिए । कुटपिटबाट श्रेष्ठ घाइते बनेका छन् ।

कमलका कप्तान लक्ष्मण बेघा, गोलकिप्पर उत्तम कार्की र प्रशिक्षक चित्रमान राईले रेफ्री श्रेष्ठलाई हातपात गरेपछि रातो कार्ड खाएका थिए ।

कार्ड पाएपछि कमलले खेल नखेल्ने भन्दै मैदान छोडेपछि अर्जुनधारालाई विजयी घोषणा गरिएको थियो । आयोजक र अफिसियलहरुले मैदान नछोड्न आग्रह गरे पनि कमलले मानेन ।

आजको जितसँगै अर्जुनधारा आफ्नो समूहको पहिलो स्थानमा चढेको छ । उसको ४ अंक पुगेको छ ।

यसअघि खेलको २८औँ मिनेटमा अर्जुनधारका निखिल तामाङले गोल गरेका थिए । ३८औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल फर्काएर बराबरी गरेका थिए ।

अर्जुनधाराले अन्तिम खेल अंकविहीन रहेको दमकसँग प्रतिस्पर्धा गर्नेछ भने एक खेल खेल्न बाँकी रहेको कमललाई प्रगियोगिताबाटै निलम्बन गरिएको छ ।

खेल नियमविरुद्ध रेफ्रीमाथि कुटपिट गरेको कारण कमललाई बाँकी खेलमा प्रतिबन्ध लगाइएको हो ।

सम्बन्धित खबर