२०८१ पौष १७, बुधवार , ०७:११:४१ बजे

Sajhamanch
'

अष्ट्रेलियाले भूकम्प प्रभावितको आकस्मिक आवश्यकताका लागि पाँच करोड भन्दा बढी रकम सहयोग गर्ने

शुक्रवार, मंसिर १, २०८०

झापा । अष्ट्रेलियाली सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडीतहरुको आकस्मिक आवश्यकताहरु पूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर (५ करोड नौ लाख नेपाली रुपैयाँ) मानवीय सहायता घोषणा गरेको छ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले एक विज्ञप्ति प्रकाशन गरी उक्त सहयोगको घोषणा गरेको हो । सो सहयोगले भूकम्प प्रभावित स्थानहरुमा काम गरिरहेका अष्ट्रेलियाको परिचित सहकर्मी संस्थाहरुलाई थप आकस्मिक मानवीय सहयोग साधनहरुको ब्यवस्था गर्न मद्धत पुग्ने दुतावासको भनाई छ ।

अष्ट्रेलियाली सहयोगबाट नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रम मार्फत प्रभावित समुदायलाई सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपालमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसा पिडीतहरुका लागि सहयोगजस्ता जीवन सुरक्षा र सहयोग सेवाहरु प्रदान गर्ने जनाइएको छ ।

अष्ट्रेलिया सरकारले उपलब्ध गराउने सो सहयोग मार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्पले प्रभावित स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनाहरुको पुनर्निमाणमा सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसीटी भोल्केले विज्ञप्तिमार्फत भनेका छन् “पश्चिम नेपालमा गएको भूकम्प र पराकम्पहरुले निम्त्याएको मानवीय र सम्पत्तीको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु ।’’

अष्ट्रेलिया र नेपालबीच लामो समयदेखि मित्रता रहेको छ र हाम्रा दुई देशहरुले २०७२ को भूकम्प, कोभिड–१९ माहामारी लगायत बिपत्तीहरुमा एकआर्कालाई सहयोग गरेको इतिहास छ । हाम्रो यो मानवीय सहायताले भर्खर गएको भूकम्पले प्रभावित समुदायहरुमा निम्त्याएको आकस्मिक आवश्यकताहरु पूरा गर्न र आउँदा हिउदका लागि तयारी गर्न सहयोग पुग्नेछ ।”

योभन्दा पहिले नेपालमा रहेको संयुक्त राष्ट्र संघीय जनसंख्या कोषलाई प्रदान गरिएको सहयोग मार्फत तयारी अवस्थामा राखिएका डिग्निटी किट र किशोरी किटहरु १० हजार महिला तथा किशोरीहरुलाई वितरण गरिएको पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै अष्ट्रेलियाको सहयोग मार्फत प्रजनन सेवा, प्रसुति सम्बन्धी जटिलताहरु र अन्य सेवाहरु प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको छ र यसले अनुमानित ६० हजार महिलाहरुलाई सेवा प्रदान गर्ने राजदुतावासको विश्वास छ ।