२०८१ माघ २६, शनिवार , ०८:४२:१७ बजे

Sajhamanch
'

भुटानी अधिकारवादी नेता रिजाल उच्च अदालतमा

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा दिएको आदेश बदर गरेर आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने जिकिरसहित उनले सोमबार रिट दायर गरेका हुन् ।

रिजालको निवेदन दर्तासँगै सामान्य तारिखमा रिहाइको माग गर्ने अभियुक्तको संख्या १६ पुगेको छ । यसअघि पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, कांग्रेस नेता आङटावा शेर्पा, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले पनि उही मागदाबीसहित उच्च अदालतमा निवेदन दिएका थिए ।

यस्तै नेपालीलाई शरणार्थी बनाउने मुख्य योजनाकार केशव दुलाल, सानु भण्डारीका साथै शमशेर मियाँ, गोविन्द चौधरी, नरेन्द्र केसी, सन्देश शर्मा, सागर थुलुङ राई, सन्दीप रायमाझी, नरेन्द्र महर्जन, रामशरण केसीले रिट दायर गरिसकेका छन् ।

जिल्ला अदालतको आदेशबाट धरौटीमा रिहा गरिएका टंक गुरुङ र लक्ष्मी महर्जनले भने आफूमाथि तोकिएको धरौटी रकम अमान्य रहेको भन्दै साधारण तारिखमा मुद्दा लड्न पाउने दाबीसहित उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

‘हामीले जिल्लाबाट कैफियत प्रतिवेदन मगाएका छौं’ उच्च अदालतका रजिस्ट्रार ठगीन्द्र कट्टेलले भने, ‘आरोपित माथिको अभियोग, प्रमाण र आएको आदेशसहितको कैफियत प्रतिवेदन परीक्षण गरेपछि उच्च अदालतले जिल्लाको आदेश सदर वा बदर गर्न सक्नेछ ।’ यो प्रक्रिया अघि बढ्न र उच्च अदालत निर्क्योलमा पुग्न केही समय लाग्ने उनले बताए ।

जिल्ला अदालत काठमाडौंमा गत जेठ १० मा ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । नक्कली शरणार्थी प्रकरणका आरोपित ३० मध्ये १३ जना अझै फरार छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले गत असार १ मा आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गिरोह नाइकेका रूपमा रहेका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई प्रहरीको उपत्यका अपराध कार्यालयले गत चैत १२ मा पक्राउ गरेपछि नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेको थियो ।