झापा । कनकाई नगरपालिकामा निर्माण सम्पन्न भएको कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा कम्पनीले कुहिने फोहोरबाट उर्जा उत्पादन सुरु गरेको छ । झापाका तीनवटा नगरपालिकाहरु कनकाई, बिर्तामोड र अर्जुनधाराको समेत समन्वय र लगानीमा निर्माण सम्पन्न गरिएको सो उर्जा उत्पादन कम्पनीले तीनवटै नगरको कुहिने फोहोर व्यवस्थापनमा मद्दत पुग्ने बताइएको छ ।
सोही सिलशिला सुरु गर्दै बिर्तामोड नगरपालिकाले फोहोर वर्गिकरणको प्रक्रियालाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । सम्बन्धित वडाका जनप्रतिनिधिहरुको अगुवाईमा साउन ६ गतेदेखि फोहोर वर्गिकरण कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने भएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा फोहोर व्यवस्थापनको विषयमा शुक्रबार सम्पन्न जनप्रतिनिधिहरुको बैठकले विभिन्न निर्णय गरेको जनाइएको छ । बैठकले नगरका सबै घर, पसल र कार्यालयहरुमा सरसफाई कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।
यस्तै, सडक तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेको निगरानी बढाउन टोल विकास समितिसँग समन्वय गर्ने, अटेर गर्नेहरुलाई दण्ड जरिवाना गर्ने निर्णय भएको छ ।
यस्तै सरसफाई शुल्कमध्ये टोल विकास समितिले १५ प्रतिशत त्यहिीँको विकासको लागि खर्च गर्न पाउने व्यवस्था गर्नका लागि कार्यपालिकामा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।
बैठकले वर्गीकरण गरिएको कुहिने फोहोर कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीमा पठाउने र नकुहिने फोहोरका लागि उपयुक्त स्थानको खोजी गरी व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाबाट उत्पादन भएको कुहिने फोहोर नविकरणीय उर्जामा पठाउन सुरु भइसकेको पनि जनाइएको छ ।
यस्तै बिर्तामोडको फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई प्रालिको अनुगमन गर्ने र कम्पनीको क्षमताको विश्लेषण गरी मूल्याङ्न गर्ने पनि निर्णय भएको छ । बैठकले विगत १ वर्षदेखि फोहोर व्यवस्थापनका लागि निःशुल्क जग्गा उपलव्ध गराउने समाजसेवी विवेक प्रसाईलाई धन्यवाद दिएको छ ।
बैठकमा बोल्दै नगर प्रमुख प्रसाईले कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जामा नकुहिने फोहोर व्यवस्थापनको लागि पनि काम अघि बढेको जानकारी दिएकी थिइन् । यसको मेशिन खरिदको लागि टेण्डर प्रक्रिया अघि बढेको उनको भनाई छ । मेशिन खरिद पछि नकुहिने प्लाष्टिकजन्य फोहोरबाट पेवर्स लगायतका सामग्री उत्पादन हुने कम्पनीबाट जानकारी आएको उनले बताइन् ।
प्रदेश सांसद कमला थापा मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुले फोहोर व्यवस्थापनको समस्या र समाधानको उपायको आ–आफ्ना धारणा राखेका थिए ।