२०८१ पौष ८, सोमवार , ०८:०२:४२ बजे

Sajhamanch
'

रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, कंसाकारलाई सांसद बनाउने, आरोपित श्रेष्ठ चुप लागेर नबस्ने

बुधवार, चैत २९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद जाने भएको छ ।

आज बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

जनवरीमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।

बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

उनले श्रेष्ठले पटकपटक बोली फेरेको र बार्गेनिङमा उभिएको आरोप समेत लगाए । उनले अघि भने, ‘पार्टीले नगरिदिओस्, गर्यो भने म देखाइदिन्छु भन्नुभएको छ ।’

यसैबीच, रास्वपाले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको र पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि नरहने जनाउँदै कंसाकारलाई सांसद बनाउने निर्णय गरेको हो ।

समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।

सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

रास्वपाबाट निष्काशित भएपछि डा. ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् । उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।

अनलाइनखबरसँग फोनमा कुरा गर्दै श्रेष्ठले भने –

‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन । तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ? जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदैथियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीँ पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’

अनलाइनखबर

सम्बन्धित खबर