२०८१ मंसिर १०, सोमवार , ०४:०७:३१ बजे

Sajhamanch
'

जिल्ला सहकारी संघको संयोजनमा ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । झापा जिल्ला सहकारी संघले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बिर्तामोडमा आज बिहीवार आयोजित सहकारी अभिमुखीकरण सप्ताह समापन कार्यक्रममा संघले विद्यार्थीलाई छात्रवृत्ति बाँडेको हो ।

झापाली समाज अमेरिकाको सहयोगमा झापा जिल्ला सहकारी संघले केही वर्षदेखि झापाका सरकारी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

संघका अध्यक्ष गणेश ढकालले सहकारी अभियान र झापाली समाज अमेरिकाको संयुक्त प्रयासमा छात्रवृत्ति वितरण गरिएको बताए । झापा विकास मञ्चसमेतको सहभागितामा छात्रवृत्ति बाँडिएको हो ।

प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरी संघले दोस्रो किस्ता वापतको छात्रवृत्ति रकम बाँडेको हो । विभिन्न सहकारी संस्थाको सिफारिसमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले जनही २१ हजार रुपैयाँका दरले छात्रवृत्ति पाउँछन् ।

सहकारी अभियानका तर्फबाट १६ जना र झापाली समाज अमेरिकाको तर्फबाट ५० जनाले छात्रवृत्ति पाएका हुन् । कक्षा १२ सम्म पढ्न उनीहरुले छात्रवृत्ति पाउँछन् ।

कार्यक्रममा बोल्दै झापाली समाज अमेरिकाका अध्यक्ष मुकुन्द ढुंगानाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्न पैसाको अभाव हुन नदिने बताए । समाजका हरेक सदस्यको योगदानका आधारमा आफ्नो ठाउँमा यसप्रकारका कार्यक्रम सञ्चालन गर्ने ढुंगानाले बताए ।

‘स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा योगदान गर्ने गरी समाजका हरेक सदस्यले बर्सेनि १०० डलर योगदान गर्दै आएका छन्’ कार्यक्रममा ढुंगानाले भने, ‘राम्रो काम गर्ने सवालमा पैसा जुटाउन समस्या छैन् ।’ उनले छात्रवृत्ति कार्यक्रमलाई व्यवस्थित बनाउन संघलाई आग्रह पनि गरेका छन् ।

झापाका १५ वटै स्थानीय तहका ६६ जना विद्यार्थीलाई छात्रबृत्ति वापतको रकम वितरण गरिएको हो । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री सिटौलाको हातबाट कार्यक्रममा उपस्थित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । अनुपस्थित विद्यार्थीलाई सम्बन्धित सहकारीको खातामा जम्मा गरिदिने बताइएको छ ।

जिल्ला सहकारी संघका उपाध्यक्ष चम्पादेबी खनालले शाब्दिक गरेको कार्यक्रमको सञ्चालन संघका सहसचिव कृष्णप्रसाद मिश्रले गरेका थिए ।

सम्बन्धित खबर