पैसाले सुख किन्न सकिएला तर खुसी किन्न सकिँदैन


जिन्दगी सबैको हुन्छ । फरक यत्ति हो कसैको छोटो अनि कसैको लामो । जीन्दगी आफूले चाहेजस्तो अनि सोचेजस्तो पनि हुँदैन । तर मनले सोचेजस्तो र चाहेजस्तो बनाउने कोशिस गर्नु चाहिँ सफल जीन्दगी हो सायद ।

जब मान्छे उमेरसँगै व्यवहारिक हुँदै जान्छ । जीवन के हो ? भनेर बिस्तारै बुझ्दै जान्छ तब उसलाई धेरै कुराको अभाव महशुस हँुदोरहेछ । अनि लाग्छ कि जीवनमा सबैभन्दा ठूलो कुरा पैसामात्र हो । पैसा छ त सबथोक छ । यही पैसाको लागि कतिपय मान्छेले समाजमा गैर कानूनी काम गर्छन् । केही समयको लागि ऐस आराममा बसे पनि गलत बाटोबाट कमाएको पैसाले पछि आफैंलाई पोल्नेछ भन्ने कुरालाई मान्छेले बिर्सन्छन् ।

तर के पैसा नै सबथोक हो त ? पैसा भए सबै खुसी मिल्छ त ? अरुबाट प्राप्त नभएको खुसी पैसाबाट प्राप्त होला त ? यो एउटा जिज्ञासा सधैं मनमा आइरहन्छ । सोही विषयमा एउटा अनुभूति यस्तो पालेकी छु ।

केही समय अगाडिको कुरा हो, किनमेलको लागि बजार जानेक्रममा एउटा अटोमा चढेँ । अटोमा म एक्लै थिएँ । अटो चालक मङ्गोलियन जातिका जस्ता देखिन्थे । हतार भएको कारण अटो चालकसँग बोल्नमा भन्दा कतिखेर बजार पुगौंला भन्नेतिर मात्रै मेरो ध्यान गयो ।

अटो चालक हेर्दा पाको नै देखिन्थे । यो चाहिँ अटोबाट ओर्लिने बेलामा याद गरेँ । अटो कुदिरहेको थियो । ‘पैसा भएर पनि के गर्नु’ भन्ने जिज्ञासा एक्कासी उनले निकाले । जवाफमा किन र बुवा भनी मैले सोधेँ । नानी उ त्यो पछाडिको बहिनी देख्यौ तिमीले । देखिन त ! किन र ? भनिसक्दा सायद उनी मलाई त्यो महिलालाई देखाउन चाहन्थे, त्यसैले उनले अटोको स्पिड घटाए ।

उनको उत्सुकतालाई देखेर मलाई पनि के रहेछ भनेर सुनौं झैं लाग्यो । अनि उनले बहिनी भनेको मान्छेलाई हेर्न मन लाग्यो । बाटुलो अनुहार, छाला गोरो भन्न मिल्दैन, कालो पनि होइन, सायद गहुँ जस्तो गोरो । नाकमा सानो अनि पहेलो फूली । केस पूरै खौरिएर भख्खर पलाएको जस्तो अलि अलि कर्ली परेको ।

अग्ली अनि लुती, त्यसमाथि रातो अर्धनो लामो कुर्था लगाएकी, कानमा केही थिएन । फाट्न लागेको सामान्य लोती भएको चप्पल लगाएर उनी हिंड्दै थिइन् । तर एक्लै होइन, उनलाई सहारा दिने मान्छे थिए । उनको हातलाई दह्रो समातिएको थियो । त्यो हातलाई समाएर सहारा दिने अर्की एक युवती थिइन् । चर्चा गरिएकी भन्दा सानी युवतीले समाएकी थिइन् ।

त्यस्तो देखेपछि मैले उनको बारेमा नसोधि बस्नै सकिन । यिनको सम्पत्ति थोरै छ र नानी ! तर हेर त उनको हालत । त्यसैले त पैसा केही होइन भनेको नि !

तपाईं चिन्नु हुन्छ ? कसरी यस्तो भयो ? अनि उनलाई डोहोर्याउने उनकै छोरी होलान् नि होइन र ? मैले उत्सुकताका साथ सोधें ।
अटो बिस्तारै कुदिरहेको थियो तिनै बहिनी भनिएकी सँगसँगै ।

नानी मैले पहिला यिनकै घरमा भाडामा पसल गर्थें । एकछिनमा म यिनको घर पनि देखाइदिन्छु । पैसाको के दुख थियो र ! राम्री पनि कम्तिको हो ? धप्पकै बलेकी । ठ्याक्कै रानी जस्ती पो थिइन् त । उमेरमा को पो राम्रो हुँदैन र ? मैले मनमनै भनें ।

त्यस्ती मान्छे अहिले यस्तो भयो । घर, गाडी, जग्गा, जमिन, नोकरचाकर सबै थिए । अहिले पनि अलिअलि त होला, तर पहिलाको हेरेर केही छैन । दशा लागेपछि सकिन र बिग्रन त कति लाग्दैन रहेछ नानी । उता हेरत उ त्यो होटल छ नि, त्यो होटेल भएको घर उताको बाटैसम्म जोडिन्छ । सबै उनीहरुकै हो । यताको साइड छ नि, हेर त नानी । त्यो बहिनीको सासू ससुराको हो ।

उनको दिमागले काम गरेन । आफन्तले ठीक बनाउनको लागि पैसा खर्च नगरेका पनि होइनन् । धेरैतिर लगे जता लगेपनि उनलाई ठीक बनाउन सकेनन् ।

अनि के कारणले यस्ती भइन् त मैले सोधें । यी बैनीले सानै उमेरमा विवाह गरिन् । केटो हेर्दा त राम्रा होइनन् तर सारै इमान्दार थिए । राम्रो किन पो चाहियो र ? मरेर जाने ज्यान । यिनलाइ भगाएर विवाह गरेको, सम्पत्ति टन्नमन्न, अपुग केही थिएन । एक अर्कालाई धेरै माया गर्थे । एउटा छोरो पनि छ । आनन्दले जीवन बिताइरहेका थिए ।

यी बैनीका श्रीमान गाडी एक्सिडेन्ट भएर ठाउँको ठाउँ मरे । त्यो पनि आफ्नै गाडीबाट नानी । त्यो पीढा सहन सकिनन् कति धेरै समय त टोलाको टोलाई पो भइन् ।

अहिले बेलुकाको समयमा एकछिन बाहिर घुमाउन निकाल्छे त्यो काम गर्नेले । निकै वर्ष पो भयो त, अहिले त मान्छे पनि बुढी भइन् । फेरि एउटा भएको छोरो पनि गँजडी भएछ । जन्मेपछि मर्नु यो त प्रकृतिको नियम नै हो नि । यसलाई सहज स्वीकार्नै पर्छ । यी बैनीले शोकलाई शक्तिमा बदल्न सकिनन् ।

यति भन्दैगर्दा मैले टेम्पोबाट ओर्लिने बेला भएछ । अटोको भाडा दिएँ । राम्रोसँग जानु ल भन्दै म बजारतर्फ लागेँ । केही दिनसम्म त्यो कुरा दिमागमा आइरह्यो । त्यो दिदी के थरकी थिइन् होला है । मैले त्यो त सोध्नै भुलेँछु भन्ने लाग्यो ।

त्यो दिदिले शोकलाई शक्तिमा बदल्न सकेको भए फेरि नयाँ जीवनको शुरुवात हुन्थ्यो होला । सबैथोक भएर पनि केही नभएको आभाष हुने थिएन होला । आफन्त भएर आफन्त बिहीन हुनुपर्ने थिएन होला । आखिर सम्पित्तीले के गर्याे । पैसाले सुख किन्न सकिएला । तर खुसी किन्न सकिँदैन भन्थे हो रहेछ भन्ने लाग्यो । वास्तबमा त्यो घटनाले सुख र खुसीको फरकलाई छर्लङ्ग पार्याे ।

          March 22, 2021 11:52 am | विचार/ब्लग,समाज

प्रतिकृयाहरू :

समाचारहरु: