२०८१ वैशाख २५, मङ्गलवार , ०३:५७:४२ बजे

Sajhamanch
'

महोत्तरीको अग्नि पीडितका लागि राहत सामग्री जुट्दै

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित बासिन्दाका लागि धमाधम राहत सामग्री जुटिरहेको छ ।

अस्ति बुधवारको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न सङ्घ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा यो बस्तीका एक सय १० वटा घर जलेका थिए । आगोले अन्य ५० वटा घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो ।

अग्नि पीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले चामल र पाँच हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अग्नि पीडित परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैबीच सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा। डिजन भट्टराई र डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।

बस्तीका अग्नि पीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरिदिन मटिहानीका मेयर हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आउनुभएको छ ।

शुक्रवार, वैशाख १४, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर