
काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ ।
थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।
दूतावासले सूचनामार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोवास गरिरहेका नेपाली नागरिकको विवरण सङ्कलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात् ‘वन वे ट्राभल डकुमेन्ट’ तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ । दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो ।
तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्थाअनुसार पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने दूतावासले जनाएको छ ।


