
अर्जुनधारा। अर्जुनधारा नगरपालिका–६ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयका संस्थापक सदस्य स्वर्गीय मेजर धनबहादुर खातीको ११ औँ पुण्यतिथिका अवसरमा बिर्तामोड–१ स्थित उनकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति , शिक्षकहरू तथा कर्मचारीको टोली निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुमनाथ काफ्लेले स्वर्गीय खातीलाई इमानदार, मिलनसार तथा सही मार्ग देखाउने प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरे । सामाजिक कार्यमा निरन्तर सक्रिय रहने खातीले समाजका हरेक वर्गको हितका लागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनले देखाएको सत्कर्मको बाटोमा सधैँ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।“उहाँको योगदान विद्यालय र समाजका लागि सधैँ अविस्मरणीय रहनेछ,” अध्यक्ष काफ्लेले बताए ।
वि.सं. १९९४ कात्तिक २३ गते चयनपुर, चित्लाङमा पिता पृथिमान खाती र माता फुलाथुङ खातीको कोखबाट जन्मिएका मेजर खाती वि.सं. २०५२ सालदेखि झापाको बिर्तामोड–१ मा बसोबास गर्दै आएका थिए । उनको वि.सं. २०८३ जेठ २ गते निधन भएको हो । वि.सं. २०१५ सालमा अमृता गहतराजसँग वैवाहिक जीवनमा बाँधिएका खातीका तीन छोरा–बुहारी, तीन छोरी–ज्वाइँ, १३ नातिनातिना तथा ६ पनाति–पनातिना रहेका छन् ।
धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय रहेका खाती असम राइफल्स कल्याणकारी संघका अध्यक्ष समेत रहेका थिए ।उनले भूपू सैनिकका एकल महिला, असहाय तथा टुहुरा बालबालिकाको संरक्षणमा विशेष योगदान पुर्याएका थिए ।
साथै विपन्न, भूमिहीन तथा सुकुम्बासी परिवारलाई आर्थिक सहयोग गर्नुका साथै बाटो निर्माण, विभिन्न मठ–मन्दिर निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।विपन्न, सुकुम्बासी तथा आर्थिक रूपमा कमजोर परिवारहरूको दुःख–पीडामा उनले सधैँ साथ दिएका थिए । दैनिक जीवन चलाउन कठिनाइ भोगिरहेका गरिब परिवारलाई घर निर्माण देखि आर्थिक सहयोग गर्नुका साथै खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गर्ने कार्यमा उनी निरन्तर सक्रिय रहन्थे । सहाराविहीन र समस्यामा परेका नागरिकको सहयोगलाई उनले आफ्नो सामाजिक दायित्वका रूपमा लिने गरेका कारण समाजमा उनी मानवीय सेवामा समर्पित व्यक्तित्वका रूपमा परिचित थिए ।
विद्यालयका प्रधानाध्यापक डम्बर यादवले खातीको निधनले विद्यालय र समाजले एक सच्चा अभिभावक गुमाएको बताए । विपन्न, गरिब तथा असहायको पीडा देख्नासाथ उहाँको मन पग्लिने र सहयोगको हात सधैँ अघि बढाउने मानवीय स्वभावका कारण उहाँ समाजमा सबैका प्रिय व्यक्तित्वका रूपमा परिचित रहेको यादवले बताए । गरिब, असहाय तथा दुःखीहरूको सहयोगमा कहिल्यै पछि नपर्ने त्यस्ता त्यागी व्यक्तित्वको अभाव समाजलाई सधैं खड्किने यादवले उल्लेख गरे ।स्वर्गीय खातीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले जीवनभर गरेका सामाजिक तथा मानवीय कार्यहरू समाजका लागि प्रेरणाका स्रोत बनीरहने प्रधानाध्यापक यादवले बताए।


