२०८३ जेठ १४ बिहिवार , ११:४५:०४ बजे

Sajhamanch
'

खोटाङमा बाँदर धपाउन ६ महिना हेरालु राख्न सुझाव

बिहिवार, जेठ १४, २०८३

खोटाङ । ‘तत्कालका लागि हरेक वडामा दुई/तीन जनादेखि पाँच/छ जना कृषक प्रहरी वा कृषक सेना राखेर बाँदर धपाउन सकिन्छ । किसानले उनीहरुलाई खेतबारीमा बाँदर आएको सूचना दिएर सहयोग गर्न सक्छन् ।’ यो भनाइ नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यको हो ।

कृषि बालीमा क्षमति पुर्‍याउने जंगली जनावर नियन्त्रण गर्ने उपायको खोजीमा जिल्ला समन्वय समिति खोटाङले जेठ १३ गते किसानसँग अन्तरक्रीया गरेको थियो । सोही कार्यक्रममा सहभागी आचार्यले बाँदर नियन्त्रण गर्ने उपाय वारे आफ्नो धारणा राख्नु भएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा छलफलका लागि किसान, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, कृषि सम्वद्ध कार्यालय, राजनीतिक दल लगायतलाई बोलाइएको थियो । कार्यक्रममा सहभागी ध्यानबहादुर राईले बाँदर धपाउनका लागि निश्चित तलब दिएर वर्षको ६ महिना हेरालु राख्न सकिने धारणा राद्यनुभयो ।

बाँदर लगायतका जंगली जनावर धपाउनका लागि हेरालु राख्ने उपयमा सहमत छन् किसान झमप्रसाद आचार्य । उहाँले वडा-वडामा बाली संरक्षण समिति गठन गरेर त्यसकै मातहतमा स्थानीय सरकारले हेरालु व्यवस्थापन गर्न सक्ने सुझाव दिनु भएको छ । झमप्रसादले हेरालुमार्फत बाँदरको निगरानी गर्ने र बालीनाली नजिक आएको बेला खेदाउन सकिने विकल्प अघि सार्नुभयो ।

किसान उद्धवप्रसाद आचार्यको धारणा पनि अरुभन्दा फरक छैन । बाँदर धपाउनका लागि नगरपालिका, गाउँपालिका वा वडा कार्यालयले हेरालु राख्न सके किसानले राहत पाउने उहाँको धारणा छ । राज्यले लगानी गर्न सके बाँदर नियन्त्रण सम्भव रहेको उद्धवप्रसाद बताउँनु हुन्छ ।

अन्तरक्रियामा सहभागी किसानले बाँदर धपाउने हेरालुको व्यवस्थादेखि बाँदरले नखाने प्रजातीका अन्नबाली लगाउने, बाँदरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गर्ने, अन्यत्र स्थानान्तरण गर्ने र मार्नेसम्मका चर्चा गरेका छन् । सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष मोहन गुरुङले भने बाँदर नियन्त्रणका लागि परम्परागत ज्ञानसीपलाई अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो। सरकारले प्रत्येक तीन वर्षको चैतमा एक पटक राष्ट्रियरुपमा बाँदर खेदाउने अभियान चलाउन सके बाँदर नियन्त्रण हुने गुरुङको सुझाव छ ।

बाँदरबाट आम किसान आजित छन् । तर बाँदर नियन्त्रण गर्ने अचुक उपाय हालसम्म भेटिएको छैन । बाँदर लगायतका जंगली जनावरको क्षति न्यूनीकरण गर्ने उपायको खोज तथा अनुसन्धान जारी छ । कृषि बालीमा क्षति पुर्‍याउने जंगली जनावर नियन्त्रण गर्ने उपायकै खोजीमा अन्तरक्रीया गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनु भयो ।

सम्बन्धित खबर