२०८३ जेठ १३ बुधवार , ०१:३२:३७ बजे

Sajhamanch
'

सर्वोच्चको ऐतिहासिक आदेश : विदेशबाट पनि बयान र बकपत्र गर्न दिनू

बुधवार, जेठ १३, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ ।

न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई सङ्कुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, बकपत्र गर्न सकिने आदेश गरेको हो ।

अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो ।

आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौँ नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ ।

सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनुपर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपालस्थित कानुनी वारिसमार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ ।

यसअघि विशेष अदालत काठमाडौंका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान, बकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिनुभएको थियो ।

यो मुद्दामा भएको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो ।

सम्बन्धित खबर