
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ नारायणस्थान चोकमा बा.५१ प ६८४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गोरखा घर भई काठमाडौं महानगरपालिका–३ बाँसबारी बस्ने ३० वर्षीय आशिष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय आँधीखोलास्थित सडकमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००७ प ३७६६ नम्बरको स्कुटर बुधबार बिहान अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटरमा सवार गोरखाको शहिदलखन गाउँपालिका–७ निवासी २७ वर्षीया सम्पदा गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित सडकमा धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र.३–०२–००८ प ७१४३ नम्बरको स्कुटर मंगलबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार धुलिखेल नगरपालिका–११ का २० वर्षीय निर्जल घिमिरेको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी सिराहाको कर्जन्हा नगरपालिका–१० मनहर्वा चोकस्थित सडकमा बा.२ क ५३२० नम्बरको बसको ठक्करबाट पैदलयात्री ८ वर्षीय मुजमिल खानको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


