२०८३ जेठ ११ सोमवार , १२:५२:०० बजे

Sajhamanch
'

सार्वजनिक चासोका मुद्दामा बहस वा फैसला गरेको दिन सोसल मिडिया नहेर्नु : न्यायाधीश पोखरेल

सोमवार, जेठ ११, २०८३

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गर्नु भएको छ ।

सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने उहाँको भनाइ छ ।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायाधीशहरुले फैसला गर्छौँ, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने ।’

कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको धारणा छ ।

उहाँले भन्नुभयो, ‘कुनै एउटा फैसला गर्‍यो, कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको रिजल्ट राम्रो आएको छ भने प्रसंशा आउँछ । ओहो म त भयंकर रैछु भन्ने खालको मेरो दिमाग बन्छ । अनि अलिकति आलोचना गाली भयो भने म चाहिँ राक्षसै रैछु भन्ने खालको पनि । त्यसले गर्दाखेरी तपार्इंले त्यो दिनको बेलकाको फेसबुक र ट्वीटर अथवा अनलाइन मिडिया हेर्नु भएन भने भोलि बिहानबाट भाष्य चेन्ज भइसकेको हुन्छ । त्यसकारण मेरो हम्बल रेक्वेष्ट जुनदिन तपार्इंले पब्लिकको अलि बढी चासो भएको मुद्दाको बहस पैरवी वा फैसला गर्नुह्न्छ त्यो दिनको बेलेकाको केही पनि नहेर्नु ।’

तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरुले त्यसदिन अनलाइन वा सोसल मिडिया नहेर्दा उपयुक्त हुने उहाँको भनाइ थियो ।

सम्बन्धित खबर