२०८३ जेठ ८ शुक्रवार , ११:४१:५४ बजे

Sajhamanch
'

लिबियाली सङ्कटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक सङ्कट समाधानका लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार इजिप्टको राजधानी कायरोमा सम्पन्न तीन देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घको अग्रसरतामा शुरु गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ ।

ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड दिएका छन् ।

लिबियामा भइरहेका हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै सम्बद्ध पक्षलाई अधिकतम संयम अपनाउन र तनाव नबढाउन अपिल गरेका छन् ।

विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औँल्याउँदै सबै विदेशी सेना, सशस्त्र लडाकु र भाडाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ ।

सन् २०११ मा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको सङ्कट देखिँदै आएको छ ।