
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेइजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन् ।
रुसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दाबी गरेको छ । दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, सञ्चार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । शिखर सम्मेलनपछि झण्डै ४० वटा अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ ।
रुस र चीनबीचको व्यापार गएको वर्ष झण्डै २४० अर्ब अमेरिकी डलर पुगेको थियो । चालु वर्षको पहिलो चार महिनामै द्विपक्षीय व्यापार २० प्रतिशतले बढेको चीनले जनाएको छ । दुवै देशले अधिकांश व्यापारिक कारोबार रुसी रुबल र चिनियाँ युआनमा गर्न थालेको पनि बताएका छन् ।
यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ । विशेष गरी लामो समयदेखि चर्चामा रहेको साइबेरिया–२ ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउने समझदारी भएको छ ।
दुवै देशले विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने, विश्वविद्यालयहरूबीच सहकार्य बढाउने तथा संयुक्त वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने सहमति गरेका छन् ।
सन् २०२६ लाई ुशिक्षा वर्षु का रूपमा मनाउने योजना पनि सार्वजनिक गरिएको छ । विश्लेषकहरूले चीन–रुसको यो संयुक्त घोषणालाई विश्व राजनीतिमा नयाँ शक्ति ध्रुव निर्माणको प्रयासका रूपमा व्याख्या गरेका छन् ।


