२०८३ जेठ ५ मङ्गलवार , ०९:०२:४८ बजे

Sajhamanch
'

कङ्गो र युगान्डामा इबोलाबाट ज्यान गुमाउनेको सङ्ख्या ८८ जना पुग्यो : तीन सयभन्दा धेरै शङ्कास्पद सङ्क्रमित

मङ्गलवार, जेठ ५, २०८३

कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा ८८ जनाको ज्यान गएको छ ।विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । ३०० जना भन्दा धेरै शङ्कास्पद सङ्क्रमित रहेका छन् ।यो प्रकोप अहिले कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । साथै सङ्गठनले अन्य देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।सङ्गठनले कङ्गोको राजधानी किन्शासामा समेत इबोला सङ्क्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ । किन्शासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झण्डै एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको अनुमान छ ।

उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । पूर्वी कङ्गोको ठूलो शहर गोमामा सबैभन्दा पहिला इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकाल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

अफ्रिकाको विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयबाट ३५ जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ । टोलीसँगै सात टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ ।

सम्बन्धित खबर