२०८३ जेठ ३ आइतवार , ०६:१६:२५ बजे

Sajhamanch
'

बसन्तपुर-गुफापोखरी-फुङलिङ सडक स्तरोन्‍नति नहुँदा जोखिमपूर्ण यात्रा

आइतवार, जेठ ३, २०८३

तेह्रथुम । पूर्वी पहाडका हरिया डाँडाकाँडा, गुराँसले ढाकिएका जंगल, कुहिरोसँग खेल्ने गुफापोखरी र हिमाली दृश्यले सजिएको ताप्लेजुङको फुङलिङ । यी सबैलाई एउटै यात्रामा जोड्ने सपना बोकेको सडक हो-बसन्तपुरदेखि गुफापोखरी हुँदै फुङलिङसम्म पुग्ने मदन भण्डारी मार्ग ।

नाम सुन्दा गौरव र विकासको अनुभूति हुन्छ तर यथार्थमा यो सडक अहिले यात्रुका लागि पीडा, हैरानी र जोखिमपूर्ण बन्दै आएको छ ।

जब बसन्तपुर बजारको आरआर गार्डेनबाट गाडी उकालो लाग्न थाल्छ तब सडकको सुरुवातमै धुलोको मुस्लो उड्न थाल्छ । केही किलोमिटर अगाडि बढेपछि खाल्डाखुल्डीले गाडी हल्लाउन सुरु गर्छ । यात्रुहरू सिट समातेर बस्न बाध्य हुन्छन् ।

चालकको अनुहारमा थकान र तनाव स्पष्ट देखिन्छ । वर्षौंदेखि उचित स्तरोन्नति हुन नसकेको यो सडकले यात्रुलाई गन्तव्यसम्म होइन, सास्तीसम्म पुर्‍याउने गरेको अनुभूति हुन्छ ।

हिउँदमा सडक धुलाम्मे बन्छ । सवारी गुड्नेबित्तिकै बाक्लो धुलोले वरिपरिका घर, पसल र बोटबिरुवासमेत ढाकिन्छन् । वर्षात लागेपछि त्यही सडक हिलाम्मे बन्छ । कतिपय ठाउँमा सवारी चिप्लिएर रोकिन्छन, कतै गाडी धकेल्न यात्रु आफैं झर्नुपर्ने अवस्था आउँछ । सडकमा गरिएको गुणस्तरहीन सोलिङले समस्या झन् बढाएको स्थानीय बताउँछन् ।

गुफापोखरी घुम्न इटहरीबाट साथीहरूसँग आएकी एलिसा कटुवालले रमाइलो यात्रा गर्ने सपना बोकेकी थिइन् । सामाजिक सञ्जालमा देखिएका सुन्दर दृश्यले उनलाई यहाँसम्म तानेको थियो । तर, सडकको अवस्था देखेर उनी बीचबाटै फर्किन बाध्य भइन् । ‘यस्तो सडक अवस्थामा यात्रा सम्भव नै रहेन’, उनी निराश हुँदै भन्छिन, ‘प्राकृतिक सौन्दर्य असाध्यै राम्रो रहेछ, तर बाटोले सबै उत्साह हरायो ।’

यो मार्ग केवल पर्यटकका लागि मात्र समस्या बनेको छैन । यहाँ दैनिक गाडी चलाउने चालक र यातायात व्यवसायीका लागि त दैनिकै संघर्ष बनेको छ ।

बसन्तपुर–ताप्लेजुङ रुटमा वर्षौंदेखि गाडी चलाउँदै आएका चालक विनोद बस्नेतका अनुसार सडकको खराब अवस्थाले आम्दानीभन्दा खर्च बढी हुने गरेको छ । ‘गाडीका पार्ट-पुर्जा पटक-पटक बिग्रिन्छन्’, उनी भन्छन, ‘पानी पर्नेबित्तिकै गाडी थन्काउनुपर्ने अवस्था आउँछ । वर्षायाममा त सडक खुलेको कि बन्द छ, छुट्ट्याउनै मुस्किल पर्छ ।’

सडकमा यात्रा गर्ने क्रममा कतिपय स्थानमा गाडी एकापसमा क्रस गर्न समेत कठिन हुन्छ । साँघुरा मोड, भत्किएका भाग र हिलोले भरिएका उकालाले दुर्घटनाको जोखिम बढाएको चालकहरू बताउँछन् । कतिपय यात्रु लामो समयसम्म जाममा बस्न बाध्य हुने गरेका छन् ।

तर, विडम्बना के छ भने, यही सडक पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय र आर्थिक जीवनरेखा मानिन्छ । तेह्रथुम र ताप्लेजुङलाई जोड्ने यो मार्गले केवल मानिस मात्र होइन, यहाँको सम्भावना पनि बोकेको छ ।

तीनजुरे–मिल्के–जलजले क्षेत्र (टिएमजे), गुफापोखरी, साँगु, मेन्छ्यायेम डाँडा, पाथीभरा, पाँचपोखरी, मंगलबारे र फुङलिङ जाने हजारौँ पर्यटक यही बाटो प्रयोग गर्छन् । वसन्त ऋतुमा गुराँस फुल्दा यो क्षेत्र रंगीन बगैंचाजस्तै देखिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरू प्रकृतिको त्यो सौन्दर्य हेर्न यहाँ पुग्न चाहन्छन् । तर, सडकको दयनीय अवस्थाले धेरै पर्यटक बीचबाटै फर्किने गरेका छन् ।

स्थानीय होटल व्यवसायीहरूका अनुसार केही वर्षयता पर्यटक आगमन अपेक्षाअनुसार बढ्न सकेको छैन । गुफापोखरी आसपास होटल सञ्चालन गर्दै आएका व्यवसायीहरू भन्छन, ‘पर्यटक आउँछन, तर बाटोले दु:ख दिएपछि फेरि फर्केर आउन चाहँदैनन् ।’

सडक बिग्रँदा सबैभन्दा ठूलो असर किसानहरूलाई पनि परेको छ । यहाँ उत्पादन हुने आलु, अदुवा, तरकारी, दूध तथा अन्य कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन समस्या हुने गरेको छ ।

ढुवानी खर्च बढ्दा किसानको आम्दानी घटिरहेको छ । कतिपय अवस्थामा उत्पादन समयमै बजार नपुग्दा नोक्सानीसमेत हुने गरेको स्थानीय लाक्पा सेर्पाको गुनासो छ ।

वर्षौंदेखि सडक स्तरोन्नतिको आश्वासन दोहोरिँदै आए पनि व्यवहारमा काम प्रभावकारी हुन सकेको छैन । कतिपय स्थानमा सामान्य मर्मत गरिए पनि त्यो टिकाउ नहुने गरेको शेर्पा बताउँछन् ।

जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्कीका अनुसार सडकको अवस्थाबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ । ‘यो मार्ग सुधार गर्नु आवश्यक मात्र होइन, अपरिहार्य भइसकेको छ’, उनले भने, ‘सडक स्तरोन्नति बिना पर्यटन र स्थानीय अर्थतन्त्रको विकास सम्भव हुँदैन ।’

स्थानीय युवाहरू पनि सडक सुधारको माग उठाइरहेका छन् । यो सडक कालोपत्रे र व्यवस्थित हुन सके पूर्वी नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिन सक्छ ।

मदन भण्डारी मार्ग केवल सडक होइन, पूर्वी पहाडको भविष्यसँग जोडिएको सपना हो । यही मार्ग भएर पर्यटक हिमाली दृश्य हेर्न पुग्छन, किसानले आफ्नो उत्पादन बजार पठाउँछन्, बिरामी उपचारका लागि शहर पुग्छन, विद्यार्थी अध्ययनका लागि यात्रा गर्छन् ।

अहिले यही मार्गले विकासको अनुभूति होइन, दु:ख र निराशा बनेको छ । प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र अझै पनि सम्भावनाले सम्पन्न छ । तर, सम्भावनालाई वास्तविकतामा बदल्न सडक पूर्वाधारको विकासमा सरकारले ध्यान दिन आवश्यक देखिन्छ  ।

सम्बन्धित खबर