
झापा । इजरायलले सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ ।
इजरायलले अक्टोबर ७ मा भएको प्यालेस्टिनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ ।
इजरायलको संसद –नेसेट– मा यो कानून ९३ मतले पारित भएको हो । यो कानूनको विपक्षमा १ मत पनि परेन । बाँकी २७ जना सांसद अनुपस्थित थिए ।
इजरायली मानव अधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ । उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन् ।
सन् २०२३ अक्टोबर ७ इजरायली इतिहासको सबैभन्दा घातक दिन थियो । हमास नेतृत्वका लडाकुहरूले दक्षिणी इजरायलमा १ हजार २०० जनाभन्दा धेरै मानिसको हत्या गरेका थिए, ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए ।
यस्तै हमासले गाजा पट्टीमा विदेशी नागरिकसहित २५१ जनालाई अपहरण गरी बन्धक बनाएको थियो ।
यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म ७२ हजार जनाभन्दा धेरैको ज्यान गएको छ, ज्यान गुमाउनेमा धेरैजसो बालबालिका, महिला र वृद्धवृद्धा छन् ।


