
काठमाडौं । विधानसभा चुनावमा धाँधली भएको भन्दै भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।
विशेष गरी पश्चिम बङ्गालमा सन् २०११ देखि निरन्तर सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेसलाई पराजित गर्दै भारतीय जनता पार्टी (भाजपा)ले पहिलो पटक स्पष्ट बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुगेको छ ।
२९४ सदस्यीय विधानसभामा २०७ सिट जित्दै भाजपा दुई तिहाइभन्दा बढी बहुमतसहित अगाडि आएको छ । तृणमूल कांग्रेस ८० सिटमा सीमित भएको छ । स्वयं मुख्यमन्त्री ममता बनर्जी पनि आफ्नो चुनावी क्षेत्र भवानीपुरबाट शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित हुनुभएको छ ।
परिणाम सार्वजनिक भएपछि बनर्जीले हार अस्वीकार गर्दै राजीनामा दिन नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले झण्डै १०० सिट ‘अनियमित रूपमा खोसिएको’ आरोप लगाउँदै निर्वाचन आयोगमाथि पक्षपात गरेको आरोप लगाउनुभएको छ । तर निर्वाचन अधिकारीहरूले यो आरोपलाई निराधार बताएका छन् ।
भारतीय संविधानअनुसार अब राज्यपालले मुख्यमन्त्रीसँग राजीनामा माग गर्न वा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सक्नेछन् । यस ऐतिहासिक जितलाई प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वी भारतमा महत्त्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।


