२०८३ वैशाख २१ सोमवार , ११:४५:४८ बजे

Sajhamanch
'

सुदूरपश्चिममा सर्पदंश उपचार सेवा विस्तार

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गता ५० प्रतिशतले घटाउने सरकारी लक्ष्यअनुसार स्वास्थ्य सेवा सुदृढ गर्न यो कदम चालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजनाअनुसार अब अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराइनेछ । त्यही कार्यक्रमअन्तर्गत डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र तथा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिँदैछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। खगेन्द्र बमका अनुसार सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ । ग्रामीण क्षेत्रमा समयमै उपचार सुनिश्चित गर्न डाक्टर तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको छ ।

प्रदेशका जिल्ला अस्पतालहरूमा भने सर्पदंश उपचार सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको छ । तर दुर्गम क्षेत्रमा सेवा अभावका कारण बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाउने समस्या देखिँदै आएको छ । विगतमा डडेल्धुरा, बैतडी, दार्चुला र डोटीका विभिन्न क्षेत्रमा सर्पदंशका कारण ज्यान जाने घटना भएका थिए ।

महाकाली प्रादेशिक अस्पतालमा भने पछिल्ला पाँच वर्षदेखि सर्पदंशबाट हुने मृत्युदर शून्यमा झरेको छ । पछिल्लो छ महिनामा विषालु सर्पले टोकेका ३२ जना बिरामीको सफल उपचार गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार सर्पदंशबाट हुने मृत्युका मुख्य कारणहरूमा दुर्गम भौगोलिक अवस्था, जनचेतनाको कमी तथा झारफुक र घरेलु उपचारमा भर पर्ने प्रवृत्ति प्रमुख छन् ।

सम्बन्धित खबर