
काठमाडौं । झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू ।
धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो संसार भग्नावशेष बनेर पल्टिरहेको । नजिकै प्रेसर कुकर चिसिएको अवस्थामा उत्तानो परेको, जसमा शायद बेलुकाको दाल पाक्ने आशा थियो । असरल्ल छरिएका थालहरूमा हिलो टाँसिएको थियो—मानौँ ती थालहरूले आफ्नै भोकको तस्वीर खिचिरहेका छन् । एउटा पुरानो बाकस फुटेर बाहिर निस्किएका थिए—चाउरिएका नागरिकताका प्रमाणपत्र, झुत्रा लुगाहरू र केही पुराना तस्वीरहरू । ती तस्वीरमा हाँसिरहेका अनुहारहरू अहिले त्यहीँ पुर्पुरोमा हात राखेर रुल्लटुल्ल हुँदै बसेका ।
नजिकै एक बालक भत्किएको घरको भग्नावशेषबाट आफ्नो च्यातिएको कापी तान्न खोज्दैछ । उसको ‘क कलम’ लेखिएको पानामा डोजरको पाङ्ग्राको छाप देखिन्छ । बालकको आँखामा आँसुसँगै एउटा शून्यता झल्किन्छ—जुन शून्यताले राज्यलाई सबैभन्दा ठूलो प्रश्न सोधिरहेकोजस्तो देखिन्छ ।
नजिकै छिन्, भर्खरै सुत्केरी भएकी एउटी आमा, जसको शरीर अझै काँपिरहेको छ । उनी एउटा च्यातिएको कम्बलमा आफ्नो १० दिनको बच्चा च्यापेर खुला आकाशमुनि आकाशतिर हेर्दै बसिरहेकी छिन् । न खानेकुरा, न त बच्चालाई ढाक्ने ओत । चिसो हावाले उनलाई जिस्क्याइरहेको छ, अनि नजिकै ठडिएको डोजरले ‘अतिक्रमणकारी’ को ट्याग भिराइरहेको छ ।
यही वीभत्स खण्डहरको बीचमा ‘भुँडीभन्दा अनुहार ठूलो’ शीर्षकमा वादविवाद प्रतियोगिता शुरू भयो । भुँडीको तर्फबाट बोल्ने प्रतिनिधि छन् – मसी रित्तिएर धुलैधुलो भएर बिरुप भएको कलम । अनुहारको तर्फबाट बोल्ने प्रतिनिधि छन् – ट्याँकीभरि तेल भएर पनि माथि दुई ड्रम थप तेल बोकेर दाह्रा किट्दै बसेको डोजर ।
निर्णायकको आसनमा छन् – गरिबको चमेली गीत गाउँदै चुनाव जितेको सरकार, विकासका इन्जिनियर र शहरका सौन्दर्यविद्हरू । अनि छेउमा रमिता हेरिरहेका छन् – पुराना दलका नेता, नागरिक समाज, पुराना अभियन्ता र कन्टेन्ट क्रियटरहरू ।
पहिलो वक्ताका रूपमा डोजर अघि सर्याे । आफ्नो फलामको पन्जा हावामा लहराउँदै इन्जिनको आवाजमा गर्जियो :
महोदय, म कुरुपताको शत्रु हुँ । मलाई कसैले निष्ठुरी भन्छ भने भनोस् । पहिले मैले पुराना दलका आफूखुशी रजगजलाई साथ दिँदै गाउँगाउँमा भीरपखरा कोतरेर नाममात्रैको बाटो कोरेँ । अहिले म यो शहरको ‘मेकअप आर्टिस्ट’ का रूपमा काम गर्दैछु । हेर्नुस् त यो अस्तव्यस्तता । यी झुुप्राझुप्री, यी धुलाम्मे मान्छेहरू—के यिनले हाम्रो देशलाई सभ्य देखाउँछन् ? विदेशी पर्यटक यहाँ आउँदा के यी सुत्केरीका आँसु खिचेर बस्छन् ? अहँ, उनीहरू त चिल्लो सडक र फराकिलो पार्क हेर्न आउँछन् ।
डोजरले अझ तीखो स्वरमा भन्यो :
भुँडी त एउटा व्यक्तिगत र गुपचुप कुरा हो । कसको भुँडीभित्र कति अन्न छ, त्यो कसले देख्छ ? तर शहरको अनुहार ऐना हो । अनुहार बिग्रियो भने राष्ट्रकै इज्जत जान्छ । त्यसैले पहिले ‘ब्युटिफिकेशन’, त्यसपछि मात्र ‘ह्युम्यानिटी’ । म भत्काउँछु ताकि यहाँ सेल्फी खिच्न मिल्ने बगैँचा बनोस् । सम्झनुस्—फोटो राम्रो आउनलाई पृष्ठभूमि सफा हुनुपर्छ, चाहे त्यो पृष्ठभूमि सफा गर्दा केही जीवनहरू नै किन नपखालिउन् !
अब पालो आयो भुँडी अर्थात् जीवनको पक्षमा बोल्दा रित्तिएको कलमको । डोजरले भत्काएको भग्नावशेषको धुलोभित्रबाट एउटा भाँचिएको र मसी रित्तिएको कलम बिस्तारै उठ्यो । अघिल्तिर बडेमानको डोजर देख्नेबित्तिकै डरायो र कापेको स्वरमा विनम्र भई बोल्न थाल्यो :
महोदय, म त्यही कलम हुँ जसले यो देशको संविधानमा ‘खान, बस्न र लाउन पाउने अधिकार’ र ‘बाँच्न पाउने अधिकार’ लेख्दा मसीले लबालब भरिएको थियो । त्यो मसी आज यो डोजरले तेल ठानेर पियो । तर के डोजरले ती सपनाहरू पनि भत्काउन सक्छ जो केटाकेटीका च्यातिएका कापीमा कोरिएका छन् ?
कलमले सुत्केरी आमातिर देखाउँदै भन्यो :
तपाईं अनुहारको कुरा गर्नुहुन्छ । एकपटक यी आमाको अनुहार हेर्नुस् त । के यो अनुहार तपाईंको स्मार्ट सिटीको नक्सामा अटाउँछ ? सडक फराकिलो बनाउँदा मान्छेका मन किन साँघुरो बनाउँदै हुनुहुन्छ ? पहिले मान्छेलाई जिउने आधार दिनुस्, त्यसपछि मात्र पार्कको कुरा गर्नुस् । भोकले आन्द्रा बटारिएको मान्छेले तपाईंको सुन्दर बगैँचामा पुतली हेरेर बस्न सक्दैन । भुँडी खाली छ भने संसारको सबैभन्दा सुन्दर दृश्य पनि कुरुप लाग्छ ।
कलमले अन्तिममा भन्यो : तपाईं अनुहारको मुस्कान लुटेर कृत्रिम चमकको कुरा गर्नुहुन्छ । दुई–चार जना हुकुम्बासीलाई देखाउँदै हजारौँ सुकुम्बासीको छातीमा नाच्नुहुन्छ ? डोजरजी यो कस्तो न्याय हो ?
चौरको छेउमा बसेर रमिता हेरिरहेका पुराना दलका नेताहरू साउती मार्दैछन् – ठिक्क पर्याे, खुच्चिङ । खुब नयाँ–नयाँ भनेर हामीलाई छोडेर उनीहरूलाई भोट दिएका हैनौँ ? अब त्यही खाली भुँडीमा सारङ्गी बजाएर ‘गरीबको चमेली’ गीत गाउन बाँकी छ, अनि झनै हेर्न मज्जा हुन्छ ।
अलि पर बसेका नागरिक समाजका मान्छेहरूले महँगो क्यापुचिनोको चुस्की लिँदै नोटप्याडमा केही लेखेजस्तो गरे । पहिले अभियन्ता हुँदै अहिले सत्तामा पुगेकाहरू मौन बसे ।
कन्टेन्ट क्रियटरको उपाधि भिरेका केही मान्छेले आइफोन तेर्स्याएर लाइभ गरे – हेर्नुस् साथीहरू, यहाँ कस्तो भइरहेको छ । लाइक र शेयर गर्न नभुल्नुहोला है ?
निर्णायक पनि उठे । निर्णायक उनै थिए, जसले केही दिनअघि सुकुम्बासीको घरमा सरकारले आँखा लगाउँदैन भनेर भाषण ठोकेका थिए । बस्तीमा डोजर चल्यो भने छाती थाप्न आउँछु भन्ने निर्णायकको बोलीमा कानूनको चिसोपन थियो ।
उनले गम्भीर हुँदै भने : हामीले दुवै पक्षको कुरा सुन्यौँ । कलमको कुरा भावानात्मक छ, तर डोजरको कुरा व्यावहारिक छ । देश बनाउन बलिदान चाहिन्छ । र इतिहासले बारम्बार प्रमाणित गरेको छ, बलिदान गरिबको रगत उम्लेपछि मात्र प्राप्त हुन्छ । बलिदानमा बगेको रगत सफा गर्न पनि डाेजर नै आवश्यक छ । त्यसैले आजको वादविवाद डोजरले जितेको छ ।
फैसला सुनाउनेबित्तिकै डोजरको इन्जिनले गर्जन निकाल्यो । हारेको कलम धुलो र हिलोमा पुरियो । चिसो र डरले लुगलुग काँप्दै गरेकी सुत्केरी आमा बच्चालाई न्यानो पार्न भुइँमा घोप्टो परिन् । बा आफ्नो फोटोको फ्रेम बोकेर सुत्केरी श्रीमतीको टाउकोमा ओत लगाउने प्रयासमा लागे । स्कुलसमेत भत्किएर अन्योलमा परेको बालक च्यातिएको कापीमा आफ्नो हराएको भविष्य खोज्न लाग्याे । खेल्दै गरेकी बालिका पुरिएको खेलौना र छुटेका साथी सम्झेर रुन लागिन् । बाँकी टहरातिर फलामे दाँत तेर्साउँदै डोजर विजयभावमा गर्जियो – कुरुप अनुहारहरू शहरबाट टाढा जाओ !


