२०८३ वैशाख १० बिहिवार , १२:२५:५३ बजे

Sajhamanch
'

मिठाई बेचेर खुशी कमाएका हरिबहादुर

बिहिवार, वैशाख १०, २०८३

इलाम । २०५० सालमा इलामको फिक्कल बजार अहिलेजस्तो भिडभाड थिएन । त्यही बेला हरिबहादुर तामाङले सूर्योदय नगरपालिका–१० को फिक्कल बजारमा जनता मिष्ठान भण्डार शुरू गर्नुभयो ।

साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उनले भने, ‘गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरू मेरैमा खाजा, खाना खान्थे ।’ उहाँले तीन दशकयता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ ।

स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । ०५० देखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किन्नुभयो । फिक्कल नजिकै नयाँ चोकमा तीन ठाउँ जमिन जोड्नुभयो । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्‍यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ट र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।

‘झापाको बिर्तामोडमा जोडेको घर, नयाँ चोकमा जोडेका जमिनहरू त्यति बेलाकै व्यापारले हो ।’ उहाँ भन्नुहुन्छ, ‘०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल शुरू गरेँ । महिनाको २०० रुपैयाँ भाडा तिर्नुपर्थ्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरूलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।’

अहिले पनि उहाँको पसल उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्नुहुन्छ, ‘महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०/७० हजार बचाउँछु ।’ उहाँको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । ‘जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ट र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।’ छोरीहरूको पढाइका लागि उहाँले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताउनुभयो ।

समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगरमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य पाँच रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ । समोसा, सेल रोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उहाँ भन्नुहुन्छ, ‘प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।’

२०४२ सालतिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाउनुहुन्थ्यो । ६०० मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बन्नुभएको थियो । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल शुरू गरेको उहाँ बताउनुहुन्छ । आज पनि उहाँ पसलमै व्यस्त हुनुहुन्छ । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । ‘काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन् ।’ उहाँ भन्नुहुन्छ ।

ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपर्थ्यो । ‘बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।’ गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाउनुभयो, ‘अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।’

सम्बन्धित खबर