२०८१ असोज ३०, बुधवार , ०६:०५:५६ बजे

Sajhamanch
'

बिर्तामोड अन्तरवडा फुटबल : फाइनलमा वडा नम्बर ५ र ४ को भेट पक्का

बुधवार, असोज २३, २०८१

बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ९ लाई हराउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

जितसँगै वडा नम्बर ५ ले वडा नम्बर ४ सँग उपाधिका लागि खेल्ने निश्चित भएको छ । फाइनल खेल भोलि असोज २४ गते हुनेछ ।

झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनल खेलको निर्धारित समयमा वडा नम्बर ९ र वडा नम्बर ५ बीच १–१ गोलको बराबरी भएको थियो ।

निर्धारित समयमा खेल बराबरीमा टुंगिए पछि टाइब्रेकरबाट नतिजा निकालिएको थियो । टाइब्रेकरमा वडा नम्बर ५ भाग्यमानी सावित भयो । उसले वडा ३ लाई ४–२ गोल अन्तरले हरायो ।

खेलको ११औँ मिनेटमा वडा नम्बर ९ को लागि दिशान्त राईले गोल गर्दै अग्रता दिलाए पनि दोस्रो हाफको ६०औँ मिनेटमा वडा नम्बर ५ का सुजन विकले गोल गर्दै खेल बराबरी ल्याएका थिए ।

खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का सुजन विक भए । उनलाई समिति उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष गुरुङ र प्रमुख अतिथि झापा एफसी तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले नगद २ हजार र ट्रफी प्रदान गरे ।

यसअघि भएको भेट्रान प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर २ लाई हरायो । ३–० गोल अन्तरले हराउँदै वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ ।

भेट्रानको फाइनलमा यसअघि वडा नम्बर १० पुगिसकेको छ । फाइनल खेल भोलि असोज २४ गते हुनेछ । पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समिति अध्यक्ष विकास गिरीले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् ।

विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ ।