२०८१ भदौ २४, सोमवार , ०८:४१:२९ बजे

Sajhamanch
'

यातायात कार्यालय झापाले उठायो ९३ करोड राजश्व

बिहिवार, भदौ २०, २०८१

झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. ९३ करोड २१ लाख ६६ हजार ८१३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु. ५ करोड १४ लाख ७९ हजार ५६६ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु. ८८ करोड ६ लाख ८७ हजार २४७ राजस्व सङ्कलन भएको थियो ।

गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९२० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार ४४१ र रुट अनुमति ५३४ दिएको थियो ।

गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६१५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७०५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार बस १५६, मिनिबस १०, माइक्रोबस १८, जिप १६०, कार २७०, भ्यान १३६, पिकअप एकस २९, ट्र्याक्टर १४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।

दर्ता भएका जम्मा सवारीमध्ये १ हजार २५७ सार्वजनिक, ९ हजार ४४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए ।

सम्बन्धित खबर