२०८१ कार्तिक ८, बिहिवार , ०५:११:४१ बजे

Sajhamanch
'

भद्रपुरमा रोजगार संवाद मञ्च गठन

सोमवार, असार ३, २०८१

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा रोजगार संवाद मञ्च गठन भएको छ ।

भद्रपुर नगरपालिका भित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधिहरुको विकास गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो ।

रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले निजी तथा गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सञ्चार क्षेत्रसमेतलाई समटेर सहभागितामूलक ढंगले रोजगार संवाद मञ्च गठन गरिएको जनाइएको छ ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आइतबार नगरपालिकाको सभाहलमा भएको भेलाले समति गठन गर्नुका साथै विभिन्न निर्णयहरु गरेको भद्रपुर नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक एवम् मञ्चका सदस्य सचिव टिकाराम पाण्डेले जानकारी दिए ।

उनका अनुसार नगरप्रमुख गणेश पोखरेलको संयोजकत्वमा गठित समितिको सदस्यमा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाको आर्थिक विकास समिति संयोजक प्रशंसा ठटाल सदस्य छन् ।

यस्तै, सामाजिक विकास समिति संयोजक सीतादेवी गुरागाईं, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली सदस्य छन् ।

यस्तै, झापा उद्योग वाणिज्य संघबाट कार्यालय सचिव दुर्गाप्रसाद खतिवडा, झापा उद्योग संघबाट कार्यालय सचिव सुष्मा शाक्य, सहकारी क्षेत्रबाट जीवन बाँस्तोला, सञ्चार क्षेत्रबाट प्रेस क्लव भद्रपुरका उपाध्यक्ष रोहित काफ्ले सदस्य छन् ।

केही सदस्य मनोनित गर्न पाउने कार्यविधिको व्यवस्था अनुसार आवश्यकता भएमा सदस्य थपिने संयोजक नगरप्रमुख पोखरेलले जानकारी दिए ।

समतिको पहिलो बैठकले भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेका बेरोजगार युवा र यस क्षेत्रमा रहेका उद्योग–प्रतिष्ठान, संस्थागत शैक्षिक क्षेत्र, सहकारी, सेवा क्षेत्रलगायतका रोजगारदाताबीच समन्वय गराउने निर्णय गरेको छ ।

सुरुमा यस क्षेत्रका बेरोजगार युवा तथा श्रमिक एवम् रोजगारदाताहरुको यथार्थ विवरण संकलन गर्ने, अद्यावधिक गर्ने र सूचना सञ्जाल निर्माण गर्ने निर्णय गरेको समितिका सदस्य सचिव पाण्डेले जानकारी दिए ।

भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र स्थापित छ । सो केन्द्रमार्फत सयौं बेरोजगारहरु सूचीकृत भई १०० दिनको ज्याला पाउने गरी विभिन्न काममा संलग्न छन् ।

भद्रपुरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत काम गरिरहेका श्रमिकहरुलाई प्रतिफलमुखी योजनाहरुमा समावेश गर्ने गरिएको र यसले विकास–निर्माणका योजनाहरु प्रभावकारी देखिएको नगरप्रमुख पोखरेलले बताए ।

सम्बन्धित खबर