२०८१ साउन ११, शुक्रवार , १०:५२:५२ बजे

Sajhamanch
'

विद्यालयको छात्रामैत्री पठनपाठनमा सुदृढ अवस्थाको सोधीखोजी

मङ्गलवार, जेठ १, २०८१

मोरङ । पथरी शनिश्चरे नगरमा आयोजित एक कार्यक्रममा सामुदायिक विद्यालयमा छात्रामैत्री पठनपाठनका लागि थप सुदृढ अवस्थाको सोधीखोजी गरिएको छ ।

छात्रा विद्यार्थी, विद्यालयमा गठित लैंगिक फोकल पर्सन, प्रतिनिधिमूलक अभिभावक, विषयगत शिक्षक लगायत सरोकारवाला सहभागी कार्यक्रममा त्यसबारे खोजीनीति भएको हो ।

लिंगका आधारमा हुने वा गरिने हिंसा र यौनजन्य हिंसाको स्थानीय अवस्था पहिचान र प्रकृति निर्धारणको अध्ययनका लागि सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र महिला फेडरेशन पथरी शनिश्चरे नगर कार्यसमितिले संयुक्तरुपमा सो कार्यक्रम आयोजना गरेको हो ।

“यो कार्यक्रमबाट नीति निर्माण तहमा त्यसविरुद्ध भूमिका खेल्न सक्ने सामथ्र्यसहित संगठित आवाज उठाउने प्रयत्न गरिएको हो” सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका युवराज बाँस्कोटाले भने, “हामी यसमा सफल भयौँ भन्नेमा दृढ छौं ।”

कार्यक्रमसँगै बालिकामैत्री पठनपाठनमा विद्यालयको अवस्था अध्ययन विषयउपर नगरका तमाम सामुदायिक विद्यालयमा छात्रामैत्री पठनपाठनक लागि थप सुदृढ अवस्थाको खोजीनीति भएको छ ।

फेडरेशन नगर अध्यक्ष गोमा दाहाल (निरौला) को अध्यक्षतामा भएको कार्यक्रममा भागीरथा माविकी प्रधानाध्यापक जानकी चेम्जोङले नगरमा छात्रा विद्यार्थी र शिक्षकको विद्यालयगत उपस्थिति र अवस्थाबारे सचित्र कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

सो अवसरमा शिक्षक नेता एवं प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, पदमप्रसाद सापकोटा, डोमी शाह, कविता तिम्सिना (भण्डारी), रिता धिमाल, भूमिका मगर लगायतको उपस्थिति थियो ।

महिलाअधिकारकर्मी अधिवक्ता शोभा बजगाईंले सहजीकरण गरेको कार्यक्रममा नगरका १८ मध्ये १७ विद्यालयले सक्रियतापूर्वक भाग लिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख उषा झाले सामुदायिक विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर मापनको क्षेत्रमा फड्को मारेको पथरी शनिश्चरे नगरमा छात्रामैत्री पठनपाठनबारे खुला बहस शुरु हुनुलाई सुखद् संयोगका रुपमा अथ्र्याइन् ।

त्यसक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्बापोले मानवअधिकार र मूलतः महिला अधिकारमुखी अभियानमा आफू दृढ संकल्पसहित उभिने बताए ।

वुमन फण्डको सहयोगमा पथरी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा उनले आफ्नो तहमा नीतिगत समस्या भए सोको समाधानमा कुनै आग्रह पूर्वाग्रह नराखी अघि बढ्ने प्रतिबद्धता जनाए ।

शिक्षक ज्ञानेन्द्र अधिकारीले शाब्दिक स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अधिकारकर्मी निर्मला चाम्लिङ (राई) ले गरेकी थिइन् ।

मङ्गलवार, जेठ १, २०८१ | शिक्षा, समाज

सम्बन्धित खबर