२०८१ जेठ ७, सोमवार , ०५:३०:२९ बजे

Sajhamanch
'

रोग लुकाउने बानीले महिलामा आङ खस्ने जोखिम भयावह

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् ।

हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर खस्ने (आङ खस्ने) समस्यासम्बन्धी अन्तक्र्रियामा उनले यस्तो बताएकी हुन् ।

“विभिन्न ठाउँमा भएका स्वास्थ्य शिविरमा आउने महिलाहरु ढाड दुख्ने समस्या भो, दिशा राम्ररी आउँदैन, यी र यस्तै कुरा मात्र भन्नुहुन्छ” सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा उनले भनिन्, “लजाउने र समस्या खुलस्त नराख्नाले समस्या भयावह बन्ने गरेको छ ।”

धेरै बच्चा जन्माउँदा, सुत्केरी व्यथा लम्बिँदा, ठूलो बच्चा जन्माउँदा लगायत विविध कारणले पाठेघरको मसल्स कमजोर हुँदा आङ खस्ने समस्या हुने गरेको बताउँदै डा लामाले भनिन्, ‘यो रोग लागेका सबैको शल्यक्रिया गर्नुपर्दैन, पाठेघर फ्याँक्नु पर्दैन् ।’

पाठेघरको मुख जचाउँदा पहिलो चरणको समस्या देखिए शल्यक्रिया नगरी निको पार्न सकिने भन्दै उनले रोग लुकाएर बस्ने बानी र बेलैमा नजाँच्नाले धेरैजसो महिलामा क्यान्सरको जोखिम हुने गरेको बताइन् ।

आङ खस्ने रोगका ४ वटा चरणबारे चर्चा गर्दै डा लामाले धेरैपटक पिसाब लागे पनि नआए यो रोगको सुरुवाती लक्षण भनेर बुझ्नुपर्ने र समयमै सचेत बन्नुपर्ने बताइन् ।

‘पिसाब लाग्ने तर, नआउने भएमा पिसाब जमेर संक्रमण फैलिन सक्छ, यस्ता लक्षण देखिए सजग हुनुपर्छ ।’, उनले भनिन् ।

विभिन्न संघ–संस्थासँग सहकार्य गरी स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गर्दै आइएको बताउँदै स्वास्थ्य पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष भिषा काफ्लेले विशेष गरी पहाडी र ग्रामीण भेगमा डेढ दशकअघिसम्म विकराल समस्या बनेको यो रोगले पछिल्लो समय तराईमा विकराल रुप लिएको बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौंको सहयोगमा भएको एक दिवशीय कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले छलफलको विषयवस्तुमा केन्द्रीत रहेर विभिन्न जिज्ञासा राखेका थिए ।

सो कार्यक्रमको सहजीकरण हेल्थ आवाज अनलाइनका सम्पादक जनक तिमिल्सिनाले गरेका थिए ।

सम्बन्धित खबर