२०८१ जेठ १५, मङ्गलवार , ०३:४५:५१ बजे

Sajhamanch
'

सहकारी व्यवसायः मेरो अनुभवमा

सोमवार, वैशाख २४, २०८१

सहकारी व्यवसायिक सङ्गठन हो । यसले पारिवारिक र सामाजिक व्यवसाय गर्छ र गर्नुपर्छ । सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता यसैका सदस्य हुन् । सदस्य सहकारीका मालिक हुन् । आफैंले गरेको व्यवसाय, आफैंले सेवा तथा बस्तुको उपभोग गर्ने भएकाले यहाँ मूल्यमा न्याय हुन्छ । गुणस्तरमा कहिल्यै सम्झौता हुँदैन । अर्थात् नराम्रो सेवा र नराम्रो बस्तु उत्पादन गरिँदैन । जसरी आफैंले खाने, आफ्नै घरको भान्सामा पाक्ने खानामा चाहेर पनि कसैले मिसावट गर्दैनन् ।

सहकारीलाई पहिला परिवारको रुपमा बुझ्ने र विकास गर्ने काम गरौं । मन मिल्ने, उद्देश्य मिल्ने, सहयोग गर्न तयार, सहभागी हुन तयार सदस्यहरुको परिवार । यस्ता सदस्यहरु सेवा लिन दिन सक्ने दूरीमा हुन्छन् वा सदस्य भएको स्थानमा सेवा दिन सकिने संरचना पुर्याउन सहकारी सक्षम हुनुपर्छ ।

सहकारीले गर्ने व्यवासायमा सदस्यको विश्वास हुनुपर्छ । विश्वास भएकालाई सदस्य बनाउनु पर्छ वा सदस्य भएपछि विश्वासमा लिन र विश्वास दिलाउने काम गर्नुपर्छ । विश्वासको आदान प्रदानको पहिलो शर्त पारदर्शिता हो । छलछाम र ढाकछोप गर्नाले शङ्का बढाउँछ । धेरै मानिसहरु कमजोरी लुकाउने र राम्रो मात्रै देखाउने गर्छन् । यसोगर्दा केही समयलाई राम्रै भए पनि सदस्यको दिगो विश्वासका लागि यो तरिका ठीक होइन ।

       रामचन्द्र उप्रेती

नेपालमा स्थापना भएका लगभग सबै सहकारीले गर्ने व्यवसाय भनेको बचत तथा ऋण व्यवसाय हो । यो सजिलो व्यवसाय भएको छ । सजिलो व्यवसाय हुँदाहुँदै पनि कतिपय सहकारीले यो व्यवसायमा पनि सफलता पाउन सकेका छैनन् । यसको मुख्य कारण सहकारीमा पैसा जोडियो तर सदस्यको मन जोडिएन । जुन सहकारीमा सदस्यको मन जोडिएन, त्यस्ता सहकारीमा एउटै परिवारको भावना विकास हुन पाएन ।

अझ कतिपय अवस्थामा एउटै परिवारको भावना विकास हुनै दिइएन । परिवारको भावना भनेको अपनत्वको भावना हो । विश्वासको भावना हो । जहाँ अपनत्व र विश्वास हुन्छ, त्यहाँ परिवारको भावना हुन्छ । जहाँ परिवारको भावना हुन्छ, त्यहाँ सबैको सहयोग र योगदान हुन्छ । परिवारका सदस्यलाई आवश्यकताका आधारमा संरक्षण र सुरक्षा प्राप्त हुन्छ । जस्तैः बालबालिका, पाका, रोगी, अशक्त आदिलाई सुरक्षा र सहयोग गरिन्छ । त्यसैले सफल सहकारी एउटा परिवारको अवधारणामा अगाडि बढ्छ ।

सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता वा सेवाग्राही सहकारीका सदस्य नै हुनुपर्छ । जस्तो बचत ऋणको व्यवासय गर्ने सहकारीले सदस्यसँग मात्रै बचत लिने र सदस्यलाई मात्रै ऋण लगानी गर्ने भनेर परिभाषित गरिएको छ । यो परिभाषा उपयुक्त थियो र छ । तर कतिपय बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा पनि परिवारको अनुभुति हुन दिइएन वा गराइएन ।

संस्था स्थापना गर्ने, सञ्चालक समिति वा उपसमितिहरुमा बसेका मालिक र सेवा लिन आउने सबै ग्राहकजस्तो व्यवहार भयो । सदस्यमा विश्वास पलाएन, विश्वास हुनेगरी काम गरिएन । त्यसैले सङ्कट आएको सदस्यले थाहा पाएनन् र थाहा पाउँदा सहयोग गर्ने मनसाय पनि बनेन । बरु उल्टै आफ्नो पैसा सुरक्षित गर्न फिर्ता लिनेको लाइन लाग्यो । जुन सहकारीले सदस्यलाई विश्वासमा लिएर काम गरे अथवा परिवारको भावना विकास गराए, त्यहाँ समस्य आएन वा सबै मिलेर समस्याको समाधान गरे, गरिरहेका छन् ।

सहकारीले गर्ने व्यवसाय भनेको बचत ऋण मात्रै हुँदै होइन । यो त सहकारीले गर्ने अनेकन व्यवसाय मध्येको एक हो । अझ सदस्यलाई बचत गर्ने बानीको विकास गराउन, फजुल खर्च कटौती गर्न, सदस्यले गर्ने उद्यम र व्यवसायका लागि सजिलै कर्जा उपलब्ध गराउन, सदस्यको खाँचो गाह्रो परेको बेला सापटी उपलब्ध गराउन बचत तथा ऋणको कारोबार पनि गर्ने हो ।

सहकारी ऐन २०४८ जारी भएपछि यो ३२–३३ वर्षको अवधिमा सहकारीले मुलतः बचत तथा ऋणको व्यवसाय गरेको अवस्था छ । यसमा पनि व्यापक सुधार र सुरक्षाको खाँचो देखिएको छ । सहकारीलाई सहकारी जस्तो नबनाउँदा र नबुझ्दा नै अहिलेको सङ्कट देखा परेको हो । अब सहकारीले जुनसुकै व्यवसाय गरे पनि सहकारीको मर्म, सिद्धान्त, मूल्य मान्यतामा रहेर व्यवसाय गर्नुपर्छ । यसो गर्दा असफल भन्ने हुँदै हुँदैन । अन्यत्र सङ्कट आउँदा पनि सहकारीमा सङ्कट आउँदैन र आउनु हुँदैन ।

सहकारीले गर्ने व्यवसायको मर्म भनेको कुन व्यवसाय गर्दा चाँडै र धेरै नाफा हुन्छ भन्ने होइन । कुन र कस्तो व्यवसायले सदस्यको आवश्यकता पूरा गर्छ भन्ने हुनुपर्छ । जस्तै, सहकारीका सदस्यले दूध उत्पादन गर्छन् तर बजारको समस्या भएको छ भने डेरी उद्योग खोल्न सकिन्छ । दूधका परिकार बनाएर बजारमा बिक्री गरेर सदस्यको दूधको बजार सुरक्षित गर्न सकिन्छ । सदस्यले धेरै आलु उत्पादन गर्छन् भने कोल्ड स्टोर सञ्चालन गर्न सकिन्छ । आलु चिप्सको उद्योग शुरु गर्न सकिन्छ । सदस्यले धान, गहुँ, मकै, तोरी, कोदो उत्पादन गर्छन् भने पहिले ‘वेयर हाउस’ सञ्चालन गर्न सकिन्छ । वेयर हाउसमा समान राखिदिएर चाहिने पैसा ऋणको रुपमा उपलब्ध गराउन सकिन्छ र बजारमा भाउ केही बढेपछि बिक्रीका लागि सहजीकरण गर्न सकिन्छ ।

सदस्यहरुको भान्सामा चाहिने ग्यास, चामल, पिठो, तेल, मसला, दाल, अचार, पापड, मिठाई, चिया आदिको उद्योग सञ्चालन गरेर सदस्यलाई उचित मूल्यमा गुणस्तरीय समान उपलव्ध गराउन सकिन्छ । सदस्यले उत्पादन गरेका तरकारी संकलन गरेर सदस्यको भान्सासम्म पुर्याउन सकिन्छ । सदस्य धेरै किसान छन् भने किसानलाई चाहिने मल, बिऊ, औजार, कृषि सामग्री, प्रविधि आदि उपलब्ध गराउन सकिन्छ । सदस्यले पशुपालन गरेको भए दाना, औषधि, औजार, प्रविधि आदि सप्लाई गर्न सकिन्छ । सदस्यले उत्पादन गरेका हाँस, कुखुरा, खसी, राँगा, बंगुर, माछा आदि किनेर सटर हाउस (माछामासु पसल) सञ्चालन गर्न सकिन्छ ।

शहरमा बस्ने धेरै सदस्यले खुद्रा पसल सञ्चालन गरेका रहेछन् भने उनीहरुलाई चाहिने सामग्रीको उत्पादक, थोक बिक्रेता तथा डिलर बनेर सदस्यलाई समान उपलब्ध गराउन सकिन्छ । यस्ता अनेकन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

सहकारीले गर्ने व्यवसाय सदस्य केन्द्रित भयो भने कहिल्यै असफल हुनु पर्दैन । तर, सदस्यलाई परिवारको अनुभूति हुनुपर्छ र गराउनु पर्छ । परिवारको अनुभूति गराउन सक्ने गरी, अपनत्व बोध हुनेगरी सदस्य बनाउनु पर्छ । परिवारको बोध गराउन सदस्यको सुखः दुःखमा सहभागी बन्ने खालका कार्यक्रम बनाउनु पर्छ । अप्ठ्यारो परेको बेला सदस्यको घरमा पुगेर सहयोग र सहानुभूति दर्शाउनु पर्छ । खुसीमा खुसी बाँढ्न पुग्नु पर्छ । सफल जीवनयापनका कला एवं सीपहरुको आदानप्रदान गर्नुपर्छ । सदस्यलाई संस्थाका सबै गतिविधिका बारेमा निरन्तर सूचना दिइरहनु पर्छ । यो काम निकै कठिन त छ तर यही काम नगरीकन सदस्यलाई परिवारको अनुभूति गराउन, अपनत्वको भाव जगाउन सकिँदैन ।

जब परिवारको सदस्य भएको अनुभूति हुन्छ, संस्थाप्रति अपनत्व महसुस हुन्छ । संस्थाको काममा पूर्ण विश्वास र भरोसा हुन्छ तब संस्थाले दिने सेवा र उत्पादन प्रति पूर्ण भरोसा हुन्छ । जब यस्तो भरोसाको विकास हुन्छ तब विज्ञापनको जरुरत पर्दैन, प्राइम लोकेशन खोजेर महङ्गो भाडा तिर्ने शोरुमको आवश्यकता पर्दैन । समान र सेवाको मूल्य बढाएर धेरै नाफा गर्ने आवश्यकता पर्दैन । थोरै मुनाफा लिएर गुणस्तरीय सामान र सेवा दिन सकिन्छ । नाफाबाट पनि सञ्चालन खर्च काटेर र जगेडा कोषमा पैसा छुट्याएर फेरि शेयर लाभांश र संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यलाई नै लाभ पुग्छ ।

यस्तो विश्वासको अवस्था सृजना भएपछि बस्तु र सेवाको मूल्य कति छ, महङ्गो वा सस्तो भनेर सदस्यले मतलव नै गर्दैनन् । तुलना नै हुँदैन । तर यो अवस्थासम्म पुग्न र पुर्याउन अलि मेहनत गर्नैपर्छ । खुल्ला बजारमा नाफा कमाउन उद्योग खोल्ने र व्यापार गर्नेसँग प्रतिस्पर्धा गरेर मूल्य घटाएर वा गुणस्तरमा सम्झौता गरेर बस्तु र सेवा दिन प्रतिस्पर्धा गर्ने हो भने सामाजिक व्यवसायमा टिक्न र टिकाउन सकस हुन्छ ।

सहकारी व्यवसाय सफल बनाउन अर्को महत्वपूर्ण कुरा छ । त्यो भनेको सहकारीमा सबैले बराबरी काम गर्नुपर्छ, बराबरी योगदान गर्नुपर्छ, मैले मात्रै किन धेरै गर्ने भन्ने भावना पनि देखिन्छ । यो गलत हुन्छ । सबैले सहयोग गर्ने हो, सकारात्मक सोच राख्ने हो । तर सबैले बराबरी काम गर्नुपर्छ, बराबरी योगदान गर्नुपर्छ भन्ने हुँदैन । जो जति बढी जिम्मेवारीमा बसेको हुन्छ उती नै बढता काम र योगदान गर्नुपर्छ । जिम्मेवारीमा बस्नेसँग संस्थाको स्वार्थ बाहेक अरु कुनै स्वार्थ हुनु हुँदैन ।

जिम्मेवारीमा बस्नेले यो अनुभूति गर्नुपर्छ कि यो व्यवसाय डुव्यो भने म डुब्छु । डुब्नु भनेको घाटा हुनु मात्रै होइन, त्योभन्दा बढी हो । घाटा भए नाफामा लान सकिन्छ तर डुब्दा इमेज बिग्रिन्छ । इमेज भनेको विश्वास हो । विश्वास गुम्यो भने फेरि प्राप्त गर्न धेरै मुस्किल हुन्छ । अहिले विश्वास गुमाएका कतिपय सङ्कटमा परेका सहकारी र तिनका नेताले अब कहिल्यै विश्वास प्राप्त गर्न सक्ने छैनन् । यो चाहिँ डुब्नु हो ।

मेरो आफ्नै अनुभव के छ भने नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले २०७० सालबाट डेरी उद्योग निर्माण शुरु गर्दा म संस्थाको अध्यक्ष हुनुको नाताले मैले नै धेरै जिम्मा लिएर काम गरें । नजानेको विषय, नगरेको विषय भएकाले अधिक सिक्न प्रयास गरें । विज्ञहरुसँग छलफल र मरामर्श गरें । सिक्न कञ्जुस्याई गरिन । असफल भएका डेरी र सफल भएर सञ्चालनमा रहेका डेरीको अवलोकन र अध्ययन गरें ।

यस्तो अध्यायन र छलफलमा डेरी व्यवसाय हेर्ने समूहलाई सँगै लिएर हिँडियो । प्राप्त अनुभवहरुलाई सञ्चालक समितिमा छलफल गरियो । सबैको छलफलबाट निस्किएको निर्णयलाई कार्यान्वयनमा लगियो । यसोगर्दा राम्रो नराम्रोृ कामको जिम्मा सबैले लिने अवस्था बन्यो । सबैको सहयोग र सुझाव पाइयो ।

उद्योग स्थापना भएर उत्पादनमा गएपछि डेरी प्रोडक्टलाई बजारमा चिनाउन र स्थापित गर्न धेरै नै मेहनत गर्नुपर्यो । प्रतिष्पर्धीहरुले टिक्नै दिँदैनन् कि जस्तो पनि भयो । तर हामीलाई हार्ने र पछि फर्कने छुट थिएन । जस्तोसुकै अवस्था सहेर भएपनि सफल हुनैपर्ने वाध्यता थियो । किनकि यो डेरी उद्योग असफल हुँदा एनएमसीका लागि ठूलो क्षति हुनसक्थ्यो । यो क्षतिले हाम्रो साख बिग्रिन्थ्यो र नयाँनयाँ व्यवसाय शुरु गर्ने अवस्था नै बन्दैनथ्यो ।

त्यसैले संस्थाका केही साथीहरु र मैले आफ्नो काम, पेशा, व्यवसायलाई भन्दा धेरै मेहनत गरेर र समय दिएर अन्ततः डेरी उद्योगलाई सफल पारेरै छाड्यौं । शुरुका तीन वर्ष अनुमानभन्दा धेरै नै घाटा भयो । तर, नआत्तिकन निरन्तर लागिरह्यौं र सफलता प्राप्त भयो ।

डेरी उद्योग धेरै नै चुहावट हुने व्यवसाय भएकाले चुनौती धेरै थियो । जुनसुकै व्यवसायमा पनि चुहावटको सम्भावना हुन्छ । विज्ञ र अनुभवी व्यक्तिको सुझाव सल्लाह एकदमै आवश्यक पर्छ । टिमको विश्वास, लक्षमा सबैको एकता, चुहावट (समयको चोरी, क्षमता भएर पनि काम नगर्ने, नजान्नेले पनि धेरै जानेको अभिनय गर्ने, खरिद बिक्रीमा कमिशन, समूह र संस्थाको हितभन्दा आफ्ना निजी हितको प्राथमिकता आदि) लाई नियन्त्रण गर्न कतिपय निर्णयमा कठोर बन्नुपर्ने हुन्छ । तर जब हामी आफ्ना मानिसलाई जागिर खुवाउने लोभमा लाग्छौं, त्यसपछि त्यस्ता मानिसलाई संरक्षण गर्न शुरु गर्छौं ।

यो कामले संस्थाको व्ययसायमा ठूलो अवरोध सिर्जना गर्छ । यसलाई शुरुबाटै व्यवस्थापन गर्न सक्नुपर्छ । हाम्रालाई होइन, राम्रालाई कामको अवसर दिनुपर्छ । राम्रो गर्न नसक्नेलाई विदा दिन कुनै दुविधा पाल्नु हुँदैन र ढिलो पनि गर्नु हुँदैन । आ–आफ्नो काममा सबैलाई जिम्मेवार बनाउनु पर्छ । घडी हेरेर छुट्टी लिने कर्मचारीभन्दा काम सकेर छुट्टी लिने कर्मचारीको विकास गर्नुपर्छ ।

व्यवसाय गर्ने सहकारीले सबैलाई खुसी पार्ने मोडलमा होइन नीति, नियम, लक्ष र उद्देश्यलाई प्रधान मान्नुु पर्छ । लक्ष, उद्देश्य र नीति नियममा सहमति र एकता हुनुपर्छ । एकता खोज्नु पर्छ । सहमत हुन नसक्नेहरु बाहिरिन्छन् वा फरक बाटो हिँड्छन् । यसमा धेरै चिन्ता गर्न आवश्यक छैन ।

सहकारी व्यवसायका उत्पादन र सेवाको पहिलो उपभोक्ता वा प्रयोगकर्ता सदस्यलाई नै बनाउनु पर्छ । सदस्यको विश्वास जितेपछि यसलाई सदस्य बाहिर विस्तार गर्नु उपयुक्त हुन्छ ।

सेवा र बस्तुको उत्पादन लागत कम गर्न सकिने सबै उपाय अवलम्वन गर्नुपर्छ । किनकि बजारमा बस्तु वा सेवा गुणस्तरीय मात्रै भएर पुग्दैन मूल्यमा प्रतिस्पर्धी पनि हुनुपर्छ । तबमात्रै सदस्य र अरु उपभोक्ताको रोजाइमा पर्छ ।

सहकारीले गर्ने व्यवसाय स्थानीय कच्चा पदार्थमा आधारित र सदस्य एवं स्थानीय उपभोक्ताको आवश्यकताका हुँदा सफल हुने सम्भावना बढी हुन्छ ।

सहकारीले गर्ने व्यवसायमा ठूलाठूला कुरामा प्रायः सबैको नजर पर्नेगर्छ तर साना साना र महत्वपूर्ण काममा मानिसको खासै ध्यान हुँदैन । यस्ता सानासाना कामलाई व्यवस्थित गर्दै जाँदा नै राम्रो परिणाम आउने गर्छ । जस्तै– कुनै उद्योग वा व्यवसायमा शौचालय त हुन्छ नै । तर त्यो सफा र व्यवस्थित छैन भने बुझे हुन्छ, त्यो उद्योग वा व्यवसायमा अरु कुनै काम व्यवस्थित छैन ।

सरसफाई, समानको राख रखाव, लेनदेन, हिसाब, गोदाम आदि व्यवस्थित छैन । सरोकारवालासँग गरिने संवाद र व्यवहार ठीक छैन भने बुझे हुन्छ यस्तो व्यवसायले असफल हुने यात्रा शुरु गरेको छ । यस्ता साना लाग्ने कुरामा धेरैको ध्यान गएको पाइँदैन । यसलाई व्यवस्थित गर्नैपर्छ ।

(लेखक उप्रेती एनएमसीका संस्थापक अध्यक्ष हुन् ।)

सम्बन्धित खबर