२०८१ वैशाख २२, शनिवार , ०३:४१:१६ बजे

Sajhamanch
'

बिर्तामोडका कुष्ठरोग प्रभावितहरुलाई अभिमुखीकरणसहित सामग्री हस्तान्तरण

बिहिवार, वैशाख १३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठरोगबाट प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै घरायसी सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कुष्ठ रोग प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री प्रदान गरिएको हो । ३० जना कृष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गरेकी हुन् ।

सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको हो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई दुई घण्टाको अभिमुखीकरणसमेत प्रदान गरियो ।

कुष्ठरोगमा जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरु मै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको बताइएको छ ।

स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोगका संक्रमित विरामीहरुको खोज पड्तालसँगै विरामीहरुको उपचारमा सहजीकरण गरिरहेको सिनियर अहेव सापकोटाले बताए ।

उक्त कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गरेकी थिइन् । उनले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचार लिन सूझाव दिइन् । नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उनको भनाई छ ।

सम्बन्धित खबर