२०८३ जेठ २० बुधवार , ०६:५७:२७ बजे

Sajhamanch
'

दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको ज्यान गयो

बुधवार, जेठ २०, २०८३

झापा । भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा २१ जनाको ज्यान गएको छ । आगलागीमा अरू कैयौँ व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बीबीसी हिन्दीले जनाएको छ ।

मालवीय नगर क्षेत्रमा रहेको ‘फ्लोरिश स्टे’ नामको होटलमा आज बिहान आगलागी भएको हो । होटलको तल रहेको ‘लेमन ग्रीन’ नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन ।

आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल पुर्‍याइएका ३९ मध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै ज्यान गइसकेको थियो । १५ जना आईसीयूमा उपचाररत छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेका खबरमा उल्लेख छ ।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले दुःख व्यक्त गरेका छन् । आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलिसकेको छैन । होटलमा प्रायः विदेशी नागरिक पुग्ने गरेका थिए ।