२०८३ जेठ १९ मङ्गलवार , ०४:३२:५३ बजे

Sajhamanch
'

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कांग्रेस संसदीय दल नेताबाट हटाउन अविश्वास प्रस्ताव

मङ्गलवार, जेठ १९, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेपाली कांग्रेस संसदीय दल नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ।

पार्टी संसदीय दल कार्यालयमा आज मुख्यमन्त्रीसमेत रहेका दल नेता शाहविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको सांसदहरूले बताएका छन्।

सांसद दिवान सिंह विष्टसहित ९ जना सांसदहरूले दल नेताबाट शाहलाई हटाउनुपर्ने माग गर्दै अविश्वास प्रस्ताव राखेका हुन्।

‘सुदूरपश्चिममा कांग्रेसका १८ जना सांसद रहेकोमा हाल एकजना सांसद प्रकाश देउवा अमेरिका गएकाले अहिले कायम रहेको १७ जनाको बहुमत ९ जनाले दल नेता परिवर्तनको लागि निवेदन गरेको विष्टको भनाई छ ।

अब दल नेतासमेत रहेका मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ। कांग्रेसको असन्तुष्ट सांसदहरूले विष्टलाई दलको नेता बनाउनुपर्ने बताइरहेका छन्।

दल नेतासमेत रहेका मुख्यमन्त्री शाह निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। उनी देउवा पक्षले हालै सुदूरपश्चिममा गरेको भेलामा पनि सहभागी थिए।

विगतमा बागमती प्रदेशमा पनि संसदीय दल नेता परिवर्तन भएको थियो। बहादुर सिं लामा तामाङलाई संसदीय दल नेताबाट हटाउन कांग्रेस सांसदहरूले अविश्वास प्रस्ताव राखेका थिए भने त्यसपछि चुनाव गरेर ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए।

सम्बन्धित खबर