२०८३ जेठ १८ सोमवार , ०७:०८:५८ बजे

Sajhamanch
'

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका परम्परागत उपाय

सोमवार, जेठ १८, २०८३

काठमाडौं । बाँदरको समस्या समाधान गर्न संसद्बाट केही सांसदहरूले सरकारलाई अल्टिमेटम नै दिए । बाँदरकै कारण गाउँबस्त रित्तिइरहेको र किसानहरूका पीडाका विषय अहिले मिडियामा छ्यापछ्याप्ती छन् । हुन त यो विषय पुरानो होइन । एक दशकयता यो समस्या झनै जटिल बन्दै आएको छ ।

यो विषय विगतमा स्थानीय र जिल्ला स्तरमा जिल्ला वन, प्रशासनसम्म सीमित थियो । अहिले संसद्मा प्रवेश पायो । बालेन्द्र शाह प्रधानमन्त्री भए लगत्तै प्रदेशगत छलफलका क्रममा सांसदहरूले समेत सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्को चालु अधिवेशनमा केही सांसदहरूले बाँदरको समस्या समाधानका लागि स्पष्ट सरकारी नीति आवश्यक रहेको विषय उठाएका थिए ।

वन्यजन्तु र मानवले आफ्नो आवश्यकता पूरा गर्ने तथा आफ्नो क्षेत्राधिकार विस्तार गर्ने क्रममा एक–आपसमा गर्ने सङ्घर्षलाई मानव–वन्यजन्तु द्वन्द्व भनिन्छ । मानव–वन्यजन्तु द्वन्द्व कुनै नयाँ विषय होइन । मानव सभ्यताको विकाससँगै यी दुई पक्षबिच द्वन्द्व रहँदै आएको छ । अहिलेको विकास मोडल र प्राकृतिक स्रोतको दोहनको वर्तमान अवस्थालाई हेर्दा आगामी दिनमा यो द्वन्द्व अझ बढ्ने निश्चितप्रायः देखिन्छ ।

नेपाल जैविक विविधताले भरिपूर्ण देश हो । यहाँ मानव र वन्यजन्तुबिचको सहअस्तित्व ऐतिहासिक रूपमा कायम रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व गम्भीर सामाजिक, आर्थिक र वातावरणीय समस्याको रूपमा देखापरेको छ । विशेषगरी पहाडी क्षेत्रहरूमा बाँदर, चरा, दुम्सी, मृग, चितुवा, भालु, बँदेल (जङ्गली सुँगुर) लगायतका वन्यजन्तुले कृषिमा ठुलो क्षति पुर्‍याउँदै आएका छन् । यसको परिणामस्वरूप गाउँबाट मानिस विस्थापित हुने, खेतीयोग्य जमिन बाँझो बस्ने र बिस्तारै बारीहरू जङ्गलमा परिणत हुने प्रवृत्ति तीव्र बन्दै गएको छ ।

यसरी गाउँदेखि सदनसम्म बहसको विषय बनेको मानव–वन्यजन्तु द्वन्द्व किन र कसरी बढ्यो भन्ने प्रश्न महत्त्वपूर्ण छ । मानव र वन्यजन्तुबिचको द्वन्द्व मुख्यतः दुई प्रकारले देखिन्छ । पहिलो, मानवले वन्यजन्तुलाई पुर्‍याउने क्षति र दोस्रो, वन्यजन्तुले मानवद्वारा सिर्जित सम्पत्तिमा पुर्‍याउने नोक्सानी ।

मानव जनसङ्ख्या र आवश्यकतामा वृद्धि भएसँगै वन्यजन्तुको प्राकृतिक बासस्थानमा मानवीय हस्तक्षेप बढ्दै गयो । जङ्गल फडानी, सडक विस्तार, पूर्वाधार निर्माण र अतिक्रमणका कारण वन्यजन्तुको क्षेत्र साँघुरिँदै गयो । परिणामस्वरूप वन्यजन्तु आहारा र सुरक्षित वासस्थानको खोजीमा मानव बस्ती नजिक आउन थाले ।

सरकार र स्थानीय समुदायको प्रयासले कतिपय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । तर सङ्ख्या बढेसँगै आहारा र वासस्थानको दबाब पनि बढेको छ । त्यसैले जनावरहरू जङ्गलबाहिर निस्केर खेतबारीमा पस्ने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने, घरगोठमा क्षति पुर्‍याउने र कतिपय अवस्थामा मानिसमाथि समेत आक्रमण गर्ने घटना बढेका छन् ।

यसरी एकातिर वन तथा वन्यजन्तुको अवस्थामा सुधार देखिएको छ भने अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व पनि तीव्र बन्दै गएको छ । यो अवस्था मानव र वन्यजन्तु दुबैका लागि नकारात्मक छ ।

पछिल्लो समय अव्यवस्थित सहरीकरण, जथाभाबी सडक तथा पूर्वाधार निर्माण, जङ्गल फडानी, वन अतिक्रमण, डढेलो तथा वन्यजन्तुको प्राकृतिक वासस्थानको विनाशले समस्या झन् बढाएको छ । मृग, बँदेलजस्ता वन्यजन्तुको चोरी शिकारीका कारण ठुला मांसाहारी जनावरको आहार शृङ्खला प्रभावित भएको छ । यसका साथै कतिपय वन्यजन्तुको आनीबानी परिवर्तन हुँदै कृषिबालीप्रति निर्भरता बढेको देखिन्छ । पोसिलो र सजिलै उपलब्ध हुने कृषिबालीले वन्यजन्तुलाई आकर्षित गरिरहेको छ ।

स्थानीय अनुभवमा द्वन्द्वका कारण

मानव–वन्यजन्तु द्वन्द्व अहिले मात्रै बढेको हो कि परम्परागत रूपमा पनि यस्तो समस्या थियो भन्ने विषयमा मैले दोलखाको गौरीशंकर संरक्षण क्षेत्रभित्र रहेका किसानहरूसँग छलफल तथा स्थलगत अवलोकन गरेको थिएँ ।

गौरीशंकर र विगू गाउँपालिकाभित्र फैलिएको संरक्षण क्षेत्रमा पछिल्लो समय बाँदरको समस्या बढ्नुमा आधुनिक विकास निर्माणका गतिविधिलाई स्थानीयले मुख्य कारण मानेका छन् । विगू गाउँपालिका–३ का वडा अध्यक्ष ढालबहादुर तामाङका अनुसार, ‘पहिला बाँदरहरू खोला र तामाकोसी नदी आसपास मात्रै बस्ने गर्थे । त्यहाँका बालीमा सामान्य क्षति पुर्‍याए पनि गाउँसम्म आउँदैनथे । अहिले हाइड्रोपावर निर्माणका लागि सडक खन्ने क्रममा डोजर र विस्फोटक पदार्थको प्रयोग भएपछि उनीहरूको पुरानो वासस्थान प्रभावित भयो र बाँदरहरू माथिल्लो गाउँबस्तीमा सरे ।’

स्थानीयवासीका अनुसार विगतमा बाघले घरपालुवा जनावर खाने समस्या बढी थियो । अहिले त्यो समस्या कम भए पनि बाँदर, बँदेल, चरा र भालुको समस्या बढेको छ ।

गौरीशंकर गाउँपालिका–५ का उद्धव खड्काका अनुसार गाउँमा खेती गर्ने मानिस घटेसँगै समस्या झन् बढेको हो । उनका अनुसार, ‘पहिले गाउँका अधिकांश खेतबारीमा खेती हुन्थ्यो । तलदेखि माथिसम्म मान्छे खेतमै हुने भएकाले जनावर धपाउन सजिलो थियो । अहिले आधाभन्दा बढी खेत बाँझो छन् । सहर र विदेश जाने क्रम बढेपछि बारी जङ्गलमा परिणत भएका छन् ।’

उनका अनुसार पहिले सबै ठाउँमा खेती हुने भएकाले वन्यजन्तु छरिएर जान्थे, अहिले थोरै खेतमा मात्र खेती हुने हुँदा सबै जनावर त्यही क्षेत्रमा केन्द्रित भएका छन् ।

वन डढेलो पनि समस्या बढाउने अर्को कारण बनेको छ । अघिल्ला वर्षहरूमा फागुनदेखि जेठसम्म लाग्ने डढेलोले वन्यजन्तुको वासस्थान र आहारा नष्ट गरिदियो । जङ्गलमा आहारा अभाव भएपछि वन्यजन्तु मानव बस्ती र खेतबारीतर्फ आकर्षित भए ।

वन क्षेत्रको अतिक्रमण, सडक विस्तार, पूर्वाधार निर्माण तथा प्राकृतिक वासस्थानको खण्डीकरणले वन्यजन्तुहरू खाद्यान्नको खोजीमा बस्ती नजिक आउन बाध्य भएका छन् ।

त्यसैगरी कृषि प्रणालीमा आएको परिवर्तनले पनि समस्या बढाएको छ । पहिले विविध बाली लगाइन्थ्यो, जसले वन्यजन्तुलाई धेरै आकर्षित गर्दैनथ्यो । अहिले मकै, आलु, गहुँ जस्ता बालीको एकल खेती बढेकाले वन्यजन्तुका लागि सजिलो लक्ष्य बनेको छ ।

द्वन्द्वका प्रमुख असरहरू

मानव–वन्यजन्तु द्वन्द्वले ग्रामीण जीवनमा गम्भीर असर पारेको छ । बाँदरले मकै, आलु र तरकारी नष्ट गर्छन् । चराले धान र गहुँमा क्षति पुर्‍याउँछन् भने बँदेलले रातारात खेत जोतेर सखाप पारिदिन्छ । यसले किसानको वर्षभरिको मेहनत नष्ट हुन्छ ।

खानेकुराको खोजीमा भालु बस्ती नजिक आउँदा बेला–बेलामा मानवसँग जम्काभेट हुने गरेको छ । भालुको आक्रमणबाट हरेक वर्ष मानिस घाइते हुने गरेका छन् । कतिपय स्थानमा समस्या यति बढेको छ कि जिरी नगरपालिकाले भालुको गतिविधि निगरानी गर्न सडक क्षेत्रमा सिसिटिभी जडान गर्नुपरेको थियो ।

कृषि उत्पादन घट्दै जाँदा ग्रामीण अर्थतन्त्र कमजोर बन्दै गएको छ । धेरै किसानले खेती नै छोड्न थालेका छन् । परिणामस्वरूप खेतीयोग्य जमिन जङ्गलमा परिणत हुँदै गएको छ, जसले फेरि वन्यजन्तुको वासस्थान विस्तारमा सहयोग पुर्‍याएको छ ।

लगातारको क्षतिले धेरै मानिस गाउँ छोडेर सहर वा विदेश जान बाध्य भएका छन् । गाउँमा बुढापाका मात्र बस्ने अवस्था सिर्जना हुँदै गएको छ । विगतमा प्रचलित पर्म, पर्मपात र सामूहिक श्रमजस्ता सामाजिक परम्पराहरू कमजोर बन्दै गएका छन् ।

खेती छोडिएपछि बारी झाडी र जङ्गलमा परिणत हुँदै गएका छन् । यसले वन्यजन्तुको सङ्ख्या र आवागमन अझ बढाएको छ । किसानहरूमा निराशा, मानसिक तनाव र असुरक्षाको भावना बढ्दो छ ।

रोकथामका परम्परागत उपायहरू

नेपालका पहाडी क्षेत्रमा समुदायहरूले परम्परागत रूपमा वन्यजन्तु नियन्त्रणका विभिन्न उपाय अपनाउँदै आएका थिए । ती उपाय स्थानीय स्रोत, श्रम र अनुभवमा आधारित तथा वातावरणमैत्री थिए ।

हात्तिबार एक प्रकारको काँडेदार बिरुवा हो, जसलाई बारका रूपमा प्रयोग गरिन्थ्यो । यसको बाक्लो काँडा र घना संरचनाले वन्यजन्तुलाई खेतमा पस्न कठिन बनाउँथ्यो । त्यसैगरी सिउँरी, घंगारु, ऐंसेलु लगायतका काँडेदार बिरुवाबाट काँडेबार बनाइन्थ्यो । यसले विशेषगरी बँदेल र अन्य जनावरलाई रोक्न प्रभावकारी भूमिका खेल्थ्यो । कतिपय ठाउँमा ढुङ्गाको पर्खालसमेत बनाउने चलन थियो ।

पहिले गाउँमा पालैपालो खेतबारीमा पहरा दिने चलन थियो । रातभरि खेतमा बस्ने, गस्ती गर्ने तथा वन्यजन्तु धपाउने काम सामूहिक रूपमा गरिन्थ्यो । बुख्याचा बनाउने, टिनका डिब्बा बजाउने, ढ्याङ्ग्रो वा मादल बजाउने जस्ता उपाय अपनाइन्थे ।

गाउँघरमा कुकुर पाल्ने र खेतबारी तथा गोठको सुरक्षामा प्रयोग गर्ने प्रचलन थियो । कुकुरको भुकाइले वन्यजन्तु डराउने भएकाले यो प्रभावकारी उपाय मानिन्थ्यो । गाउँलेहरू मिलेर ठुलो क्षेत्रफलमा खेती गर्दा निगरानी सजिलो हुन्थ्यो । साथै वन्यजन्तुले कम खाने बाली—जस्तै कोदो, फापर, गहत आदि लगाउने प्रचलन पनि थियो ।

वन्यजन्तु आउने सम्भावित ठाउँमा आगो बाल्ने, धुवाँ निकाल्ने तथा रातभरि उज्यालो राख्ने चलन थियो । केही बिरुवाको गन्ध र काँडा वन्यजन्तुले मन नपराउने भएकाले त्यस्ता बिरुवालाई बारको रूपमा प्रयोग गरिन्थ्यो । पहिले किसानहरू खर्क र बारीमै गोठ सारेर बस्ने गर्थे । यसले खेतबारीको सुरक्षा मात्र होइन, मल व्यवस्थापनमा समेत सहयोग पुर्‍याउँथ्यो । अहिले त्यो परम्परा हराउँदै गएको छ ।

अन्तमा

मानव–वन्यजन्तु द्वन्द्व नेपालका पहाडी क्षेत्रका लागि जटिल र बहुआयामिक समस्या बनेको छ । यसले कृषि, ग्रामीण अर्थतन्त्र, सामाजिक संरचना र वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ ।

तर समाधान असम्भव छैन । हाम्रा पुर्खाले विकास गरेका हात्तिबार, घंगारुका काँडेबार, सामूहिक पहरेदारी, विविध खेती प्रणालीजस्ता परम्परागत उपायहरू आज पनि उत्तिकै सान्दर्भिक छन् ।

यदि यस्ता परम्परागत अभ्यासलाई आधुनिक प्रविधि, प्रभावकारी नीति र स्थानीय समुदायको सक्रिय सहभागितासँग जोड्न सकियो भने मानव र वन्यजन्तुबिचको सहअस्तित्वलाई पुनः सन्तुलित बनाउन सकिन्छ ।

दिगो समाधानका लागि स्थानीय समुदायको सक्रियता, सरकारी प्रतिबद्धता र परम्परागत ज्ञानको संरक्षण अनिवार्य छ । यही बाटोले गाउँलाई पुनर्जीवित गर्न, कृषि प्रणालीलाई सुदृढ बनाउन र जैविक विविधताको संरक्षण गर्न सकिन्छ ।

सम्बन्धित खबर