२०८३ जेठ ७ बिहिवार , १२:१६:०७ बजे

Sajhamanch
'

देशमा मौसमको दुई रूप :सुदूरपश्चिम र लुम्बिनीमा ‘तातो दिन’, काठमाडौँ र पोखरासहित मध्य र पूर्वमा वर्षा

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । आज बिहीबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ।

एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा अत्यधिक गर्मी बढ्ने सम्भावना छ भने देशका मध्य तथा पूर्वी भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

दिउँसोको समयमा विशेषगरी पश्चिमी क्षेत्रका सहरहरूमा ‘तातो दिन’ महसुस हुनेछ। पूर्वानुमान अनुसार दिपायल, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ।

यसैगरी वीरेन्द्रनगरको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियस र दाङको घोराहीमा ३४ देखि ३६ डिग्रीसम्म पुग्नेछ। दिउँसो अत्यधिक गर्मी हुने भैरहवामा भने रातिको समयमा २० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान छ।

पश्चिमी क्षेत्रका धेरैजसो सहरमा रातिको मौसम मुख्यतया सफा रहनेछ। डडेलधुरा, जुम्ला र सिमरामा दिनभर मौसममा आंशिक बादल लागे पनि वर्षाको सम्भावना भने छैन।

अर्कोतर्फ, देशका मध्य र पूर्वी पहाडी तथा तराईका धेरै सहरहरूमा वर्षाको सम्भावना रहेको छ। संघीय राजधानी काठमाडौँमा दिउँसो ३० प्रतिशत र राति २० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसको बिचमा रहनेछ। पर्यटकीय सहर पोखरामा दिउँसो ४० प्रतिशत सम्भावनासहित मध्यम वर्षा र राति ३० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुनेछ।

त्यसैगरी पूर्वी नेपालका ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। तराईको सहर विराटनगरमा अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियस पुग्ने भए पनि दिउँसो र राति दुवै समयमा ३० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुनेछ।

जोमसोम, धरान, जनकपुर र जिरीमा पनि दिउँसोको समयमा २० देखि ३० प्रतिशत सम्भावनासहित हल्का वर्षा हुनेछ। रातिको समयमा पनि पूर्वका धरान, धनकुटा र विराटनगरमा मध्यम वर्षा जारी रहने पूर्वानुमानमा उल्लेख छ।

702801865_1992018031707272_2271011154267618594_n

सम्बन्धित खबर