२०८३ जेठ ७ बिहिवार , ११:३५:५४ बजे

Sajhamanch
'

काँकरभिट्टामा मृत भेएिको गौर मारिएको होइन, उसलाई हृदयघात भएको थिया

बिहिवार, जेठ ७, २०८३

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टामा बुधबार बिहानै गौरी गाईको भाले गौर एउटा घरको आँगनमा छट्पटाउँदै मृत्यु भएको घटनाले धेरैको मन रोयो । कतिले यसको हत्या भएको दावी गरे, कसैले यसको उद्धार नगरेकोमा वन कार्यालयलाई गाली पनि गरेको देखिन्थ्यो । र, सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो र गौरको मृत्युको बारेमा धेरैले जिज्ञासा राखेका थिए ।

डिभिजन वन कार्यालय झापाका अनुसार झापामा जंगली हात्तीको आतंक हुने गरेको भए पनि गौर भने कहिलेकाँही मात्रै देखिन्छन् ।

मंगलबार साँझ हात्ती गस्ती टोलीले एक जोडी गौर मेचिनगरतिर रहेको रिपोर्ट दिएका थिए । बुधबार बिहानै एउटा घरको आँगनमा गौर छट्पटाइरहेको भिडियो देखिएपछि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।

घरमा राखिएको सीसीटीभी फुटेजमा गौरले एक व्यक्तिलाई लेखेटिरहेको र गौर अचानक चिप्लिएर लडेको देखिएको छ । ती व्यक्ति भने सुरक्षित छन् ।

बिहानै ६ः४० बजेतिर आँगनमा लडेको गौर करिब डेढ घण्टापछि मरेको थियो । गौर जहाँ चिप्लिएर लड्यो सोही ठाँउमा नै मरेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गौरको पोष्टमार्टम पछि खाडल खनेर गाडिएको छ । पोष्टमार्टम रिर्पोटमा गौरको मृत्यु हृदयघातबाट भएको देखिएको छ ।

‘कसैले आक्रमण गरेर वा विषादी खुवाएर वा अन्य कुनै कारणबाट गौर मरेको देखिएन’ वन अधिकृत पाठकले भन्नुभयो, ‘हर्टअट्याक भएर मरेको देखिन्छ ।’

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयसम्म वरिष्ठ पशु चिकित्सकको रुपमा कार्यरत रहेका डा. विजय श्रेष्ठले गौरको मृत्युको कारण क्याप्चर मायोप्याथीका कारण भएको हुन सक्ने बताउनु हुन्छ ।

गौरको मृत्युको अवस्थाको भिडियो हेरेपछि कुरा गर्दै डा. श्रेष्ठले क्याप्चर मायोप्याथी एक घातक अवस्था भएको पनि जनाउनु भयो ।

जंगली जनावरहरूले अत्यधिक तनाव वा लामो समयसम्म शारीरिक परिश्रमको कारणले गर्दा मांसपेशी र अंगहरूमा गम्भीर क्षति भोग्ने उहाँको भनाई छ ।

‘गौरको हकमा पनि त्यस्तै देखिन्छ, कसैले लेखेटेको वा आक्रमण गरेको वा आफैं गएर कुनै बस्तुसँग ठोक्किएको अवस्थामा यस्ता जंगली जनाबरहरुमा क्याप्चर मायोप्याथी देखिन्छ’ डा श्रेष्ठ भन्नुहुन्छ, ‘मेटाबोलिक एसिडोसिस, मांसपेशी फाइबर ब्रेकडाउन, मिर्गौला विफलता वा मुटुले नै काम गर्न छाड्छ र अन्ततः मृत्यु हुन्छ ।’

विषेश गरी जंगली जनावरहरु गौर, लघुना, मृग, वा भनौंं खुर भएका स्तनधारी जंगली जनाबरहरू, चराहरुमा यस्तो समस्या देखिने उहाँ बताउनु हुन्छ ।

घरपालुवा जनाबरमा भने यस्तो समस्या निकै कम हुन्छ । उनीहरु बाहिरी वातावरण र अवस्थाका बारेमा जानकार हुन्छन् । तर, जंगली जनावरहरूले अप्रत्याशित अवस्था, वातावरण र जोखिम देख्दा क्याप्चर मायोप्याथी हुने डा. श्रेष्ठको भनाइ छ ।

सम्बन्धित खबर